अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको मिसन-२०८४ एकल बहुमतको सरकारः शंकर पोखरेल

एमालेको मिसन-२०८४ एकल बहुमतको सरकारः शंकर पोखरेल


दाङ-नेकपा एमालेका महासचिव शंकर पोखरेल एमालेलाई बलियो राष्ट्रिय शक्तिको रुपमा स्थापित गर्दै एमालेको नेतृत्वमा एक्लै बहुमतको सरकार बनाउने अवस्थामा पुर्‍याउने बताउनु भएको छ। उहाँले एमालेको मिसन-२०८४ एकल बहुमतको सरकार रहेको बताउनु भयो।

दाङको लमहीमा राष्ट्रिय पर्वहरूको अवसरमा आयोजित शुभकामना आदान-प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले देशमा देखिएको अस्थिरताबाट निकास दिन एमालेलाई बलियो राजनीतिक शक्तिको रुपमा स्थापित गर्न आवश्यक रहेको र त्यस दिशामा केन्द्रित हुन नेता कार्यकर्तालाई निर्देशन दिनुभयो।

महासचिव पोखरेलले कुनै पनि पार्टीको बैसाखी, सहारा विना, एक्लै नेकपा एमाले बहुमतको सरकार बनाउन मिसन २०८४ लाई केन्द्रमा राखेर अघि बढ्न निर्देशन समेत दिनुभयो। उहाँले भन्नुभयो, ‘कुनैपनि पार्टीको बैशाखी विना, सहारा विना, एक्लै नेकपा एमाले बहुमतको सरकार बनाउन हामी मिसान २०८४ लाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने छ। अब एमालेको बहुमतको सरकार, सुखी नेपाली–समृद्ध नेपालको राष्ट्रिय अकांक्षा पूरा गर्ने हाम्रो योजनातर्फ हामी नेता कार्यकर्ता संलग्न हुनुपर्छ।’

उहाँले कांग्रेससँग सत्ताको बार्गेनिङ गर्न समाजवादी मोर्चा बनाइएको टिप्पणी गर्नुभयो। ‘सत्तामा रहेका कांग्रेसइतर पार्टीहरूले समाजवादी मोर्चा बनाएका छन्, केका लागि भन्दा कांग्रेससँग सत्ताको बार्गेनिङ्ग गर्न’ उहाँले भन्नुभयो, ‘राष्ट्रको विकास र समृद्धिको लागि समाजवाद निर्माणको लागि समाजवादी मोर्चा भन्ने खालको कुरा गर्या भए एउटा कुरा हुन्थ्यो । त्यो त कार्यकर्तालाई अल्मल्याउने खेल मात्रै हो।’

नेकपा माओवादी केन्द्रले दसैँ पर्वलाई लक्षित गरेर गैर जिम्मेवार राजनीतिक नारा बनाएकै कारण अहिले माओवादी पार्टीका नेताहरूले खुलेर दसैँको टिका लगाउन नसकेको टिप्पणी गर्नुभयो।

‘आज भोली माओवादीका नेताहरू घर भित्र लुकेर दसैँको टिका लगाउनुहुन्छ। हिजो बहिस्कार भन्दै हिँड्नुभयो। आज घरभित्र लगाउने बाध्यता आइलागेको छ’,उहाँले भन्नुभयो।