अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दसैँको मौका छोपी बढी भाडा लिने माइक्रो बस कारबाहीमा

दसैँको मौका छोपी बढी भाडा लिने माइक्रो बस कारबाहीमा


दमौलीजिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले चाडपर्वको मौका छोपी बढी भाडा लिने सवारी साधनलाई कारबाही गरेको छ । दमौलीबाट काठमाडौँ जाने माइक्रोले प्रतिव्यक्ति एक हजार रूपियाँ भाडा लिएको भेटिएपछि ट्राफिक प्रहरीले उक्त माइक्रोलाई जरिवाना तिराएर कारबाही गरेको छ भने यात्रुहरुको भाडा फिर्ता गराएको छ । 

दमौलीबाट काठमाडौँ छुट्ने माइक्रोले प्रतिव्यक्ति एक हजार भाडा लिएको गुनासो आएपछि ट्राफिक प्रहरी कार्यालयका प्रमुख राजीव विष्टको नेतृत्वमा आज बिहान जाँच गरी सबै यात्रुको भाडा फिर्ता गराइएको छ । दमौलीबाट काठमाडौँसम्मको भाडा छ सय ५० रहेकामा चाडपर्वको मौका छोपी केही सवारी साधनले एक हजारसम्म लिने गरेको गुनासो आएको छ ।

विष्टले भन्नुभयो, “दसैँको मौका छोपी बढी भाडा लिएको गुनासो आएपछि म आफैँ चेकजाँचका लागि पुगेको थिएँ, काठमाडौँ जाँदै गरेको माइक्रोलाई आँबुखैरेनीमा रोकेर कारबाही गरेका छौँ ।” चाडपर्वको मौका छोपी बढी भाडा लिएको भए प्रहरीलाई खबर गर्न उहाँले आग्रह गर्नुभयो ।

यस्तै, भोर्लेटार चोकमा बिहानै काठमाडौँ जाने यात्रुहरुबाट एक हजार लिएको गुनासो आएपछि प्रहरीले तोकिएको भन्दा बढी भाडा नलिन यातायात व्यवसायीलाई निर्देशन दिइसकेको छ । रासस