अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सहकारीद्वारा दसैँमा ६९ लाखबढीको खसीबोका बिक्री

सहकारीद्वारा दसैँमा ६९ लाखबढीको खसीबोका बिक्री


झापा-झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले दसैँमा रु ६९ लाख ६० हजार मूल्यको खसीबोका बिक्री गरेको छ । संस्थाबाट कृषि कर्जा लिएर व्यावसायिक बाख्रापालन गरेका झापा र इलाम जिल्लाका किसानबाट ती खसीबोका नगदै किनेर उपभोक्तालाई बिक्री गरेको संस्थाका निर्देशक लक्ष्मण खतिवडाले बताउनुभयो।

किसानबाट किनिएका खसीबोकाको स्वास्थ्य परीक्षण गरेर मात्र बजारमा बिक्रीका लागि पठाइने गरेको उहाँको भनाइ छ। उहाँका अनुसार विगत वर्षमा पनि संस्थाले आफ्ना सदस्य किसानको खसीबोका किनेर चाडपर्वका बेला खुला बजारमा बिक्री गर्दै आएको थियो। यसपालि पहिलोपल्ट इलामबाट सङ्कलित खसीबोका काठमाडाँैंसम्म लगेर बिक्री गरिएको थियो।

संस्थाको कृषि क्षेत्रका प्रमुख डा कमलेश्वर भाटले यसपालिको दसैँमा औसत ३० केजीका चार सयवटा खसीबोका बिक्री भएको जानकारी दिनुभयो। ती खसीबोका जिउँदै तौलिएर खोरबाटै नगदमा किनिदिँदा किसान चाडका बेला लाभान्वित भएका थिए।

झापा, इलाम, मोरङ, सुनसरी, उदयपुर र पाँचथर जिल्लामा ती खसीबोका बिक्री गरिएका थिए। खसीबोका जिउँदै तौलिएर प्रतिकेजी रु पाँच सय ८० मा बिक्री गरिएको उहाँले जानकारी दिनुभयो।

“हामी कृषकलाई व्यावसायिक बाख्रापालनमा प्रोत्साहित गर्न ऋणसँगै निःशुल्क तालिम, प्राविधिक सहयोग र बीमा प्रदान गरिदिन्छौँ”, उहाँले भन्नुभयो, “किसानले उत्पादन गरेका खसीबोका बजारीकरणमा पनि प्रत्यक्षरूपमा सघाउँछौँ। उनीहरूका खसीबोका किनेर बिक्री गरिदिन्छौँ।”

संस्थाले छ जिल्लामा चार सयको सङ्ख्यामा फ्रेस हाउसमा लगानी गरेको र ती फ्रेस हाउसले पनि किसानका खसीबोका अरु बेला किन्ने व्यवस्था मिलाइदिएको उहाँले बताउनुभयो। बाख्रापालक किसान र फ्रेस हाउसबीच व्यापारिक सम्बन्ध गाँसिदिँदा दुवै पक्षलाई फाइदा भइरहेको र बजारीकरणको  समस्या नभएको उहाँको भनाइ छ।

बाख्रापालक किसानलाई निःशुल्क प्राविधिक सहयोग पुर्याउन संस्थाले पशु चिकित्सकसहित १० कर्मचारी परिचालन गर्दै आएको छ। एक लाख ५७ हजार नौ सय २० जना सदस्य रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थामा ७४ हजार एक सय ३० ऋणी छन्। संस्थाबाट कृषि कर्जा लिनेको सङ्ख्यासमेत उल्लेख्य छ।