अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

२०८४ को चुनावमा एमालेले एकलौटी जित्छ: अध्यक्ष ओली

२०८४ को चुनावमा एमालेले एकलौटी जित्छ: अध्यक्ष ओली


पोखरा-नेकपा एमाले का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको मत र अभिमत जितेर २०८४ मा एकल बहुमतको सरकार बनाउने बताउनुभएको छ। 

एमाले गण्डकी प्रदेश कमिटीको नवनिर्वाचित कार्यसमितिको सपथ ग्रहण समारोहलाई आज सम्बोधन गर्न पोखरा आउनुभएका अध्यक्ष ओलीले अहिलेको सत्ता गठबन्धनका कारण देश बर्वादीको दिशामा गएको दाबी गर्दै त्यसलाई रोक्न एमालेको नेतृत्व आवश्यक हुने बताउनुभयो। 

अध्यक्ष ओलीले भन्नुभयो, ‘२०८४ मा एमालेले एकलौटी गर्छ। जनताको मन जितेर एमालेका प्रतिनिधिलाई अत्यधिक मतले जिताउँछन्। बुथ कब्जा गरेर होइन, अनुशासित भएर जित्छौँ, जिताउँछौँ ।’

अध्यक्ष ओलीले अधिवेशनमा प्यानल बनाएर चुनाव लड्दा पार्टी कमजोर हुनसक्ने बताउनु भयो। उहाँले भन्नुभयो, ‘तपाईंहरु प्यानल बनाएर चुनाव लड्नुभयो । केही प्रदेशमा सर्वसम्मत नेतृत्व चयन भो, त्यहाँ डेमोक्रेसी नभएको होइन। यो विचारहरू बीचको प्रतिस्पर्धा होइन। तपाईंहरुको प्रतिशपर्धामा जुन स्वच्छता चाहिएको थियो, त्यो पूरा भएन।’ 

अध्यक्ष ओली सहभागी हुने कार्यक्रमलाई एमाले गण्डकीले विशेष समारोहको नाम दिएको छ । समारोहलाई एमाले नेताहरु रामबहादुर थापा, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण बिष्टलगायतका नेताले सम्बोधन गर्नुभयो । 

अधिवेशनले म्याग्दीका नवराज शर्माको अध्यक्षतामा १५५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको थियो। कमिटीको उपाध्यक्षमा मीनप्रसाद गुरुङ, सचिव धनञ्जय दवाडी, उपसचिवद्वय मञ्जु अधिकारी र दामबहादुर विक निर्वाचित हुनुभएको थियो ।  

उहाँले पार्टीले तोकेको मिसन २०८४ पुरा गर्न जोड दिएर लाग्न आग्रह गर्नु भयो ।