पोखरा-नेकपा एमालेका अध्यक्ष केपी ओलीले दुर्गा प्रसाईँलाई पक्राउ गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गुहारेको भनेर प्रचार गरी एमालेलाई बदनाम गराउन आफूमाथि अनर्गल आरोप लगाएको बताउनु भएको छ।
एमाले गण्डकी प्रदेश कमिटीको नवनिर्वाचित कार्यसमितिको सपथ ग्रहण समारोहलाई आज सम्बोधन गर्दै अध्यक्ष ओलीले साे कुरा बताउनु भएको हाे।
‘मैले दुर्गा प्रसाईँलाई पक्राउ गर्न प्रचण्ड गुहारेको भनेर प्रचार भइरहेको छ,’ उहाँले भन्नुभयो, ‘काटिएर जाओस् यो शिर, त्यस्ताहरूसँग शिर झुक्दैन। बाघ भोकै मर्छ घाँस खाँदैन। म्याउँम्याउँ गर्दैन।’
अध्यक्ष ओलीले देशमा राजनीतिक रूपमै डकैती भइरहेको आरोप लगाउनु भयो । भन्सार र एयरपोर्टबाट कर छलेर तस्करी भइरहेको र सरकारले कारबाही गर्न नसकेको उहाँको आरोप उनको छ। उहाँले भन्नुभयो, ‘भन्सारमा कर उठ्दैन, तस्करी मात्रै हुन्छ। एयरपोर्टबाट क्विन्टल सुन बरामद भयो, ६० किलोमा झर्यो । देशमा डकैती भइरहेको छ। साढे ९ केजी सुन बरामद भएको थियो, अहिले २ किलो होला । त्यहीँबाट खाए, सिद्ध्याए।’

अध्यक्ष ओलीले देश टाट पल्टिने अवस्थामा पुगेको बताउनु भयो। ‘विगत दुई वर्षमा देशको अवस्था गम्भीर छ। बनाउन धेरै समय लाग्छ, ध्वस्त बनाउन समय नलाग्ने रहेछ। आर्थिक रूपमा टाट पल्टिने अवस्था छ’, उहाँ भन्नुहुन्छ, ‘विदेशमा गएका नानीबाबुले पठाएका रेमिट्यान्सले मात्रै देश चलेको छ। अन्त डामाडोल छ।’
उहाँले एमालेलाई बदनाम गराउन आफूमाथि अनर्गल आरोप लगाएको बताउनु भयो। ‘कहिले कम्बोडियामा लगानी गरेको भन्छन्। कहिले ठाउँ ठाउँमा जग्गा र महल छ भन्छन्,’ उहाँले भन्नुभयो, ‘यो सबै एमाले सिध्याउन गरिएको दुष्प्रचार हो। कम्बोडियामा मैले टेलिकममा लगानी गरेको रहेछु भने पत्ता लगाउनुस्, १ हजार थपेर तपाईँलाई नै दिन्छु।’
अध्यक्ष ओलीले माओवादी अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल लगायतले कम्युनिस्ट पार्टी फुटाएर दक्षिणपन्थीको करेसामा बास माग्न पुगेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘देशी विदेशी शक्ति मिलेर मलाई पार्टीबाट निष्कासन गरे । दुई तिहाइको पार्टी फुटाउने, सरकार ढाल्ने उनीहरूको गन्तव्य स्पष्ट भयो। कम्युनिस्ट आन्दोलन सिध्यायौं दक्षिणपन्थीको करेसामा बास माग्न जानुभयो।’







प्रतिक्रिया