काठमाडौँ–आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको आफ्नो दोस्रो खेलमा नेपालले आज मलेसियाविरुद्ध खेल्दैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने समूह ‘ए’को यो खेल दिउँसो १ः१५ बजेदेखि सुरु हुनेछ । नेपाल लगातार दोस्रो जितको खोजीमा छ । यसअघि नेपालले पहिलो खेलमा हिजो सिंगापुरविरुद्ध सहज जित निकालेको थियो ।
आज पनि कुल चार खेल हुनेछन् । कीर्तिपुरमा हुने पहिलो खेलमा सिंगापुर र ओमानबीच प्रतिस्पर्धा हुनेछ ।यस्तै, मूलपानीस्थित माथिल्लो मूलपानी क्रिकेट मैदानमा हुने पहिलो खेलमा बहराइन र हङकङबीच प्रतिस्पर्धा हुनेछ । मूलपानीको दोस्रो खेलमा कुवेत र युनाइटेड अरब इमिरेट्स (यूएई) भिड्नेछन् ।
हिजोदेखि सुरु भएको प्रतियोगितामा नेपालसहित कुल आठ टिम सहभागी छन् । प्रत्येक समूहमा चार टिम रहने गरी दुई समूहमा विभाजन गरिएको छ ।
नेपाल समूह ‘ए’मा छ । यो समूहमा नेपालसँगै सिंगापुर, मलेसिया र ओमान छन् । नेपालले आजको खेल बाहेक अब कात्तिक १६ गते ओमानसँग खेल्नेछ ।
समूह ‘बी’मा युनाइटेड अरब इमिरेट्स (यूएई), बहराइन, हङकङ र कुवेत छन् । प्रत्येक समूहबाट शीर्ष दुई टिम सेमिफाइनलमा प्रवेश गर्नेछन् ।






प्रतिक्रिया