अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाल विश्वको मित्र हो, म ज्यादै खुशी छु: महासचिव गुटेरेस

नेपाल विश्वको मित्र हो, म ज्यादै खुशी छु: महासचिव गुटेरेस


काठमाडौँ-संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सङ्क्रमणकालीन न्याय जटिल प्रक्रिया भए पनि यसले दिगो शान्ति कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ।

सभामुख देवराज घिमिरेले सम्बोधनका लागि आग्रह गर्नुभएपछि महासचिव गुटेरेसले संसदलाई सम्बोधन गर्नुभयो।

सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘तपाईँहरू आफ्नो शान्ति प्रक्रियाको अन्तिम चरणमा हुनुहुन्छ, सङ्क्रमणकालीन न्यायको माध्यमबाट युद्धको घाउ निको पार्दै हुनुहुन्छ, सङ्क्रमणकालीन न्यायले दिगो शान्ति कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छ। तर यो सजिलो भने छैन। स्वभावतः यो एक नाजुक र जटिल प्रक्रिया हो।’

नेपालको चार दिने औपचारिक भ्रमणबाट आफू ज्यादै खुसी भएको उल्लेख गर्दै महासचिव गुटेरेसले नेपाल विश्वको मित्र भएको पनि उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, 'पछिल्ला केही दिनमा यो असाधारण देशको भ्रमण गर्न पाउँदा म ज्यादै खुसी छु। मैले देखेका कुराले एक सामान्य सत्यलाई पुष्टि गर्दछन्, नेपाल विश्वको मित्र हो।'

संयुक्त राष्ट्र संघले यसलाई वास्तविकतामा रूपान्तरण गर्नका लागि सङ्घर्ष गर्न नछाड्ने उहाँले प्रतिवद्धता जनाउनुभयो। नेपालमा संघीय सांसदहरुसँग साक्षात्कार हुन पाउनु आफ्नो लागि सम्मानको कुरा भएको उहाँले चर्चा गर्नुभयो। मनमोहक नेपालमा पुनः आउन पाउनु आफ्नो लागि सौभाग्य भएको उहाँले चर्चा गर्नुभयो। आफू पहिलो पटक नेपालमा सन् १९७० को दशकमा आएको पनि उहाँले बताउनुभयो।

'जति पटक म यहाँ आएको छु, म छक्क परेको छुँ' महासचिव गुटेरेसले भन्नुभयो, 'विगत केही दिनमा मैले देखेका र अनुभव गरेका कुरा मसँग सधैं रहनेछन्। हिमालयमा सूर्यको किरण, जनसमुदायको न्यानोपन र समृद्ध सांस्कृतिक विविधताको अनि पक्कै पनि लुम्बिनीको पवित्रता। म र मेरो प्रतिनिधिमण्डललाई तपाईँहरूको निमन्त्रणा, तपाईँहरूको आतिथ्यता र स्वागतका लागि म नेपाल सरकारलाई धन्यवाद दिन्छु।'