बारा– कलैयास्थित बाल एकता बोडिङ्ग स्कुलका सञ्चालक रुपेश सर्राफको हत्यामा आठजना व्यक्ति प्रत्यक्ष संलग्न रहेकामध्ये प्रहरीले पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।
सोमबार दिउँसो कलैया भरतचोक नजिकै सञ्चालक सर्राफको गोली हानी हत्या गरिएको थियो। सर्राफको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेको पाँच जनालाई बारा प्रहरीले आज (बुधबार) सार्वजनिक गरेको हो।
पक्राउ पर्नेहरूमा कलैया उपमहानगरपालिका-६ बस्ने राधा गुप्ता, जमिल अख्तर, रियाज अन्सारी र भारत मोतिहारि घोडासहन-१२ बस्ने २३ वर्षे चन्दन यादव र सोही ठाउँका २३ वर्षीय अभिनव कुमार सिंह रहेको प्रहरी उपरीक्षक सुरेश काफ्लेले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो।
यसैगरी हत्याका मुख्य अभियुक्त एवम् योजनाकार मनोज गुप्ता भने भारतमा फरार रहेको उहाँको भनाइ छ।
पक्राउ परेका राधासँग दुई पक्षीय प्रेम प्रसङ्ग रहेकाले सर्राफ र मनोजबिच केही दिन अघि कलैयामा झगडा समेत भएको थियो ।
राधा सर्राफले सञ्चालन गरेको स्कुलमा विगत एक वर्षदेखि लेखापालको रूपमा काम गर्दै आएकी थिइन् । दुई पक्षीय प्रेम प्रसङ्गका कारण सर्राफको हत्या भएको प्रहरी उपरीक्षक काफ्लेले जानकारी दिनुभयो ।
प्रतिक्रिया