काठमाडौँ–टी–२० विश्वकप एसिया छनोटमा आज नेपालले ओमानसँग खेल्दैछ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ९ बजेदेखि खेल सुरु हुनेछ ।
नेपाल आज जितसहित समूह विजेता बन्ने लक्ष्यमा छ । छनोटको समूह ‘ए’ मा रहेका यी दुवै टिम अपराजित छन् । समूह चरणको अन्तिम खेलअगावै सेमिफाइनलमा स्थान बनाए पनि आजको खेलले विजेता र उपविजेताको टुंगो लगाउने छ ।
नेपालले यसअघि प्रतियोगिताको पहिलो खेलमा सिंगापुरविरुद्ध र दोस्रो खेलमा मलेसियाविरुद्ध जित निकालेको थियो । ओमानले भने पहिलो खेलमा मलेसिया र दोस्रो खेलमा सिंगापुरलाई हराएको थियो ।
प्रतियोगिताको सेमिफाइनलमा समूह ‘ए’ को विजेताले समूह ‘बी’ को उपविजेतासँग खेल्नेछ । समूह ‘बी’ बाट युनाइटेड अरब इमिरेट्स (यूएई)ले अन्तिम चारमा स्थान बनाइसक्दा अर्को एक टिमको टुंगो लाग्न भने बाँकी छ ।
प्रतियोगिताको फाइनलमा पुग्ने दुई टिम आउँदो वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपमा छनोट हुनेछन् ।






प्रतिक्रिया