काठमाडौँ–आइसिसी टी–२० विश्वकप एसिया छनोटमा नेपाललाई ओमानले १४६ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा ओमानले ९ विकेटको क्षतिमा १४५ रन जोड्यो ।
समूह ‘ए’ विजेताको टुंगो लाग्ने खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ओमानले पहिले ब्याटिङ गरेको थियो ।
समूह ‘ए’ मा नेपाल र ओमान यसअघि नै दुई खेल जितेर सेमिफाइनल पुगिसकेका छन् । नेपालले पहिलो खेलमा सिंगापुरविरुद्ध ८ विकेट र दोस्रो खेलमा मलेसियाविरुद्ध ६ विकेटको जित निकालेको थियो ।
ओमानले पहिलो खेलमा मलेसियालाई ३२ रन र दोस्रो खेलमा सिंगापुरलाई २२ रनले हराएको थियो । आजको खेलले समूह विजेताको टुंगो लाग्नेछ।
समूह ‘ए’ को विजेताले समूह ‘बी’को उपविजेता र समूह ‘ए’को उपविजेताले समूह ‘बी’ को विजेतासँग सेमिफाइनल खेल्नेछन् ।
एसिया छनोटको फाइनल पुग्ने २ टिमले आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकप खेल्नेछ ।






प्रतिक्रिया