अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अर्थतन्त्रको सङ्कट समाधान गर्न सर्वपक्षीय सम्मेलन जरुरी छ: विष्णु पौडेल

अर्थतन्त्रको सङ्कट समाधान गर्न सर्वपक्षीय सम्मेलन जरुरी छ: विष्णु पौडेल


नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले संविधानको प्रभावकारी कार्यान्वयनका लागि सदन प्रभावकारी हुनपर्ने बताउनुभएको छ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उहाँले प्रतिपक्षले उठाएको आवाज सदनमार्फत सरकारले सुन्नुपर्नेमा जोड दिनुभयो।

‘चालु अधिवेशनमा कहीँ नभएको अभ्यास भएको छ। प्रधानमन्त्री विदेश गए पनि कार्यबाहक प्रधानमन्त्री हुन्छ। तर यहाँ प्रधानमन्त्री विदेश गएको बेलामा सदन बन्द गरियो’, एमाले नेता पौडेलले भन्नुभयो, ‘यस अवधिमा अनुचित लेनदेनसम्बन्धी कानुनमा संशोधनबाहेक अरु कुनै पनि काम गर्न सकेनौँ।’ सदनमा आउनुपर्ने विषय नआएको र सात महिनासम्म एउटा मात्र कानुन बन्नुमा सरकार जिम्मेवार रहेको उहाँको भनाइ थियो। उहाँले सदनमा सरकारले सांसदहरुको भूमिका कमजोर बनाउने काम गरेको आरोप लगाउनुभयो।

उपाध्यक्ष पौडेलले सदनमा सांसदहरुले उठाएको प्रश्नको सरकारले बेवास्ता गरेको टिप्पणी गर्नुभयो । मुलुकमा सुन तस्करी बढेका बेला धेरै मेहनत गरेपछि जाँचबुझ आयोग बनाएको तर त्यो अनुसन्धानमा सरकारले प्रभावकारी ढङ्गले गर्न चाहेको नदेखिएको बताउनुभयो।

हाँले मुलुकमा हिंसा, बलात्कारजस्ता घटना बढिरहेको र कानुनले दोषी ठहर गरेका व्यक्तिलाई सरकारबाट आममाफी दिँदा छुटेको भोलिपल्ट फेरि अपराध कर्ममा लागेको घट्नाका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउनुभयो। 'संविधान र कानुन विरुद्धमा अनेकन प्रकारका काम भइरहेका छन्। सरकारको ध्यान त्यसतर्फ जान सकेको छैन', नेता पौडेलले भन्नुभयो, 'समाजमा शान्ति सुव्यवस्था कायम गर्ने काममा सरकारको ध्यान जान सकेको छैन। विधिको शासनको सट्टामा कानुन हातमा लिने काम भएको छ। स्वेच्छाचारितालाई नियन्त्रण गर्न सरकार गम्भीर हुन सकेको छैन।'

उहाँले शान्ति प्रक्रियामा विलम्ब गर्न नहुने बताउँदै शान्ति प्रक्रियाको बाँकी काम छिट्टै टुङ्ग्याउनुपर्छ भन्नेमा एमालेको स्पष्ट धारणा रहेको बताउनुभयो। उहाँ देशको मुलुकको अर्थतन्त्र सङ्कटमा रहेको बताउँदै अर्थतन्त्रलाई सङ्कट समाधान गर्न सत्तापक्ष र प्रतिपक्ष सबै मिलेर महासम्मेलन गर्न जरुरी रहेकोमा जोड दिनुभयो।

उहाँले भन्नुभयो, ‘तथ्याङ्कले देशको अर्थतन्त्र सङ्कटमा छ भन्ने देखाउँछ। समस्या दिनदिनै विकराल बन्दै गएको छ तर सरकार बेखबर छ। सरकारले निर्माण सम्पन्न भएको आयोजनाको भुक्तानी दिन सकेको छैन। अर्थतन्त्रको सङ्कट समाधान गर्न सरकार असफल भएको छ।’ सरकारले भैरहवा, पोखरा विमानस्थल सम्पन्न भएका आयोजना सञ्चालन गर्न नसकेको उहाँले आरोप लगाउनुभयो।