अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

टिकटकमा कस्ता भिडियो हाल्दै हुनुहुन्छ ? कडाईं गर्दै सरकार

टिकटकमा कस्ता भिडियो हाल्दै हुनुहुन्छ ? कडाईं गर्दै सरकार

छाडा र गैरकानूनी सामग्री स्वतः डिलिट हुने व्यवस्था गरिँदै


काठमाडौं-के तपाईं टिकटक चलाउनुहुन्छ ? कि अरुको जथाभावी भिडियो अपलोड गरेर अपराध गरिरहनुभएको छ ? अथवा आफ्नो ‘अकाउन्ट’ बनाएर अरुको टिकटकमा मज्जा लिइरहनुभएको छ ?

त्यसो हो भने सावधान !

नेपालमा भिडियो सेयरिङ प्लेटफर्म टिकटक (सामाजिक सञ्जाल) का प्रयोगकर्ता बढेसँगै यसको दुरूपयोग पनि बाक्लिएपछि गृह मन्त्रालयले अश्लील सामग्री राख्नेलाई कानूनी दायरामा ल्याउने तयारी अघि बढाएको छ।

मन्त्रालयले आइतबार एक प्रेस विज्ञप्ती जारी गर्दै सामाजिक सञ्जाल टिकटकमार्फत सामाजिक सद्भाव विगार्ने, घृणा तथा विद्वेष फैलाउने, विशिष्ट व्यक्तिको मानमर्दन गर्ने, जातीय, धार्मिक, सामाजिक सद्भाव विगार्ने र अश्लील खालका गतिविधि तथा सामग्री राख्ने र त्यस्ता कार्य गर्ने व्यक्ति पत्ता लगाई कानूनी कारवाहीको दायरामा ल्याउने जनाएको हो।

त्यसैले जिम्मेवार नागरिकको रुपमा कानूनसम्मत शिक्षामूलक र सामाजिक सद्भाव नविगार्ने सामग्री मात्र प्रकाशन, प्रसारण गरी असल नागरिकको भूमिका निर्वाह गर्न र गैरकानूनी कार्य गरेवापत हुने कानूनी कारवाहीबाट बच्न सम्बन्धित सबैमा अनुरोध गरिएको मन्त्रालयका सहसचिव एवम प्रवक्ता नारायण भट्टराईले जारी गरेको विज्ञप्तीमा भनिएको छ। उहाँका अनुसार सम्बन्धित निकायसँग छलफल गरेपछि मन्त्रालयले यस्तो निर्णय गरेको हो।

नेपाल प्रहरीको साइवर व्युरो लगायत सरकारी निकाय र टिकटकको कार्यालय, सिंगापुरबीच सहकार्य बढाउने उद्देश्यले गत शुक्रबार गृह मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सुरक्षा निकाय लगायतका सरकारी निकाय एवम् टिकटकका अन्तर्राष्ट्रिय प्रतिनिधिबीच छलफल भएको थियो । छलफलमा सामाजिक सञ्जालको दुरुपयोग रोक्नका लागि त्यसमा प्रकाशन तथा प्रसारण हुने गैरकानूनी सामग्री स्वतः हट्ने व्यवस्था मिलाउन र दोषीउपर कानून बमोजिम कारबाही गर्ने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।

टिकटक लगायतका सामाजिक सञ्जाल पछिल्लो समय व्यक्तिगत तथा सामाजिक जीवनका अभिन्न अंग जस्तै बनेका भनेको र यिनीहरुको मर्यादित र कानूनसम्मत प्रयोगले नयाँ कुरा जानकारी लिन दिन र सामाजिक सम्पर्कमा रहन सहयोग पुर्याउँदै आएको छ।

रमाइलो गर्ने र भाइरल हुने बहानामा केही व्यक्तिले जथाभाबी भिडियो बनाएर ‘अपलोड’ गर्दा व्यक्तिगत र संगठनात्मक गोपनीयता उदाङ्गो भइरहेको ठहर गर्दै प्रहरीले शंकास्पद र विवादास्पद भिडियोमाथि निगरानी बढाएको हो।

नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार कार्यालयभित्रै भिडियो बनाउने, बैंकका कर्मचारीले फाइल, पैसा र डकुमेन्टजस्ता सामग्री भिडियोमार्फत सार्वजनिक गर्ने, प्रहरी र नेपाली सेनाको बर्दीको प्रयोग गर्ने, ड्युटीमै भिडियो बनाउने, चित्त नबुझेका व्यक्तिको अश्लील भिडियो अपलोड गरिदिने, अनेकन भिडियोका ‘टुक्रा’जोडिदिने प्रवृत्ति बढेको छ।