रुकुम पश्चिम-सोमबार दिउँसो जाजरकोटको रामिडाँडामा गएको भूकम्पमा परेर रुकुम पश्चिममा सात र जाजरकोटमा ६ जना गरी १३ जना घाइते भएका छन्। यसैगरी, जाजरकोटमा तीनवटा घर भत्किएको जानकारी जिल्ला प्रहरी जाजरकोटमा डिएसपी सन्तोष रोकायले दिनुभयो।
दिउँसो ४ः३४ बजे जाजरकोटको रामिडाँडा भएर आएको ५.८ रेक्टरस्केलको भूकम्पले जिल्लाको आठबिसकोट नगरपालिकाका चारजना, चौरजहारी नगरपालिकाका दुईजना र सानीभेरी गाउँपालिकाका एकजना गरी सातजना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ।
आठविसकोट नगरपालिकाका प्रमुख नगर प्रमुख रबि केसीका अनुसार वडा नम्बर ११ का ३७ वर्षका बीरबहादुर बुढा, सुवासना आग्री, वडा नम्वर १२ निवासी २२ वर्षीय सुरज बिक र वडाका ५ वर्षीया ज्ञानिल बिक घाइते हुनुभएको छ। घाइते चारजनाको उद्धार गरेर अहिले राडिबजारस्थित नगर अस्पतालमा उपचारका लागि भर्ना गरिएको नगर प्रमुख केसीले जानकारी दिनुभयो।
त्यसैगरी, भूकम्पमा परेर घाइते चौरजहारी नगरपालिका ४ का १५ वर्षीया लक्ष्मी नेपाली र वडा नम्वर ७ का ३१ वर्षीय उदयराज कामीको चौरजहारी अस्पतालमा उपचार भइरहेको छ।
सानीभेरी गाउँपालिका ४ आमलाटाकुरा गाउँका घाइते एक जनाको सानीभेरी गाउँपालिका अस्पताल छोटे बगरमा उपचार भइरहेको स्थानीय डिल्ली परियारले जानकारी दिनुभयो । घाइतेहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
यसअघि गत शुक्रबार जाजरकोटको रामिडाँडा नै भएर आएको ६.४ रेक्टरस्केलको भूकम्प आएको थियो। उक्त भूकम्पले रुकुम पश्चिममा मात्र ५२ जनाको मृत्यु भएको थियो।





प्रतिक्रिया