जाजरकोट-जाजरकोटको बारेकोट गाउँपालिका-१ रामिडाँडालाई केन्द्रबिन्दु बनाई गएको भूकम्पका पीडितहरुलाई राहत दिन नेकपा एमालेको टोली जिल्लाका दुर्गम गाउँ पुगेको छ।
चिकित्सक सहितको टोलीले भूकम्पामा ज्यान गुमाएका मृतकका परिवार र अन्य पीडितहरुलाई राहत प्रदान गर्दै मनोपरामर्श समेत दिन सुरु गरेको टोलीका प्रमुख नेकपा (एमाले)का केन्द्रीय सदस्य निरज आचार्यले जानकारी दिनुभयो।
भूकम्प प्रभावितहरुको खोज, उद्धार र राहतका अनेक कुरा गरे पनि जिल्लाका दूरदराजमा सरकारी टोली समेत नपुगेको बेला चिकित्सक सहितको राहत टोली गाउँ पुग्ने एमाले पहिलो भएको नलगाड नपगरपालिका-३ की यमुना पुनले जानकारी दिनुभयो।
‘हामीकहाँ आउने त हजुरहरु पहिलो टोली हो’, आँखाभरी आँसु झार्दै पुनले भन्नुभयो, ‘घरमा पुरिएर उनका (श्रीमान) जानुभएदेखि हाम्रो पाटाको बास थियो अब यहाँहरुले दिएको पालले आकाशका तारा हेरेर रात कट्नु नपर्ने भयो।’
अनेरास्ववियूका केन्द्रीय सदस्यसमेत रहेका चिकित्सक डा. सुरज कडरियासहितको टोलीले भूकम्प प्रभावितहरुको स्वस्थ्य परिक्षण गरेको एमाले केन्द्रीय सदस्य आचार्यले जानकारी दिनुभयो।
भूकम्प प्रभावितहरुको खोज, उद्धार र राहत वितरणका नाममा जिल्ला सदरमुकाममा जतिसुकै टोलीहरु आएको भए पनि जाजरकोटको सबैभन्दा बढी मानविय क्षति भएको नलगाड नगरपालिकाका विभिन्न वस्तीमा पुग्ने टोली एमालेको पहिलो हो, केन्द्रीय सदस्य आचार्यले भन्नुभयो, ‘हामीले हरेक पिडितको घरमा गएर प्रारम्भीक स्वास्थ्य परिक्षणसहित सान्त्वना दिंदै राहत समेत प्रदान गरेको छ।’
शुक्रबार राति ११ः४७ मा गएको ६.४ म्याग्नेच्युटको भुकम्पमा परेर १०५ जनाको मृत्यु भएको जाजरकोट जिल्लाको नलगाड नगरपालिकामा मात्र ५१ जनाको मृत्यु भएको थियो भने नलगाड–१ मा २५ जनाको ज्यान गएको एमाले नेता आचार्यले जानकारी दिनुभयो। विभिन्न निकायहरुसँगको समन्वयमा काठमाडौंदेखि राहत संकलन गरेर गएको एमाले टोलीले नलगाडका २६३ घरपरिवारलाई त्रिपाल, ब्लांकेट, चामल, दाल, तेल, चाउचाउ, बिस्कुट वितरण गरेको छ।
स्थानीय तहका जनप्रतिनिधि, नेकपा (एमाले)का स्थानीय कमिटिका पदाधिकारीहरुको रोहबरमा परामर्श, स्वास्थ्य परिक्षण र राहत वितरण गरेको टोलीले तीनै तहका सरकारका प्रतिनिधिहरुले जिल्ला सदरमुकाममा मात्रै केन्द्रीत हुनुभन्दा गाउँका कुनाकाप्चामा भएका पिडितहरुकोमा पनि पुग्न आग्रह गर्नुभयो।
एमाले नेता आचार्यको टोलीमा काठमाडौंबाट गएका चिकित्कसहित एमाले जाजरकोटका नेताहरु नवराज सिंह, धर्मबहादुर शाही, रिता रावल, धनबहादुर रावल, हेमन्त बुढा, सुनिता बोहोरा, दिनेश गौतम लगायतका नेताहरु संलग्न हुनुहुन्छ।







प्रतिक्रिया