अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भूकम्प पीडितका लागि एमालेले राहत सामग्री वितरण गर्ने

भूकम्प पीडितका लागि एमालेले राहत सामग्री वितरण गर्ने



काठमाडौं-नेकपा एमालेले जाजरकोटको भूकम्प परी घरबारबिहिन भएका पीडितलाई राहत सामग्री वितरणको तयारी गरेको छ।
पार्टीको समाजिक सेवा केन्द्रले भूकम्प पीडितहरुका लागि राहत सामग्री जाजरकोट र पश्चिम रुकुम पठाउने तयारी गरेको छ। केन्द्रका प्रमुख एवं नेकपा एमालेका केन्द्रीय सदस्य मोतिलाल दुगडका अनुसार अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा भूकम्पको बिपत्तीमा परेकाहरुलाई सहयोग गर्नका केन्द्र अग्रसर भएको हो।
केन्द्रले भूकम्प पीडितका लागि चामल, दाल, चाउचाउ, विस्कुट, नुन जस्ता खाद्य सामग्री उपलब्ध गराउने छ। यसैगरी जाडोबाट पीडितलाई बचाउनका लागि कम्बल र टेन्ट पनि तिवरण गर्न लागिएको दुगडले जानकारी दिनुभयो।
दुगडका अनुसार राहातका लागि पठाइने सामग्रीमध्ये केही काठमाडौंमा खरिद गरिएको छ भने केही सामग्री नेपालगञ्ज, दाङ लगायतका ठाउँमा खरिद गरिएको छ।
पहिलो चरणको राहत सामग्री दुईदिन भित्र पिडितहरुसम्म पुर्याउने तयारी भएको छ। दोस्रो चरणमा थप राहत सामग्री उपलब्ध गराइने दुगडले जानकारी दिनुभयो। दुई चरण गरेर १ करोड रुपैंया बराबरको राहात सामग्री वितरण तयारी एमालेले गरेको छ।
भूकम्पको भोलिपल्टै अर्थात कात्तिक १८ गते देखि नै नेकपा ९एमाले०का नेता, कार्यकर्ता तथा जनप्रतिनिधीहरु पिडितको उद्धार र राहतका लागि खटिरहेका छन्। पिडितहरुको दैनिकीलाई थप सहज बनाउनका लागि एमालेले वितरण पनि १८ गते देखि नै सुरु गरेको हो।
गत कात्तिक १७ गते राती ११।४७ मा जाजरकोटको रामीडाँडा केन्द्र भएको आएको ६।४ रेक्टर स्केलको भूकम्पले १५३ जनाको ज्यान गएको थियो भने सयौं घाइते छन् । यसैगरी सयौं घरहरु भत्किएर मानिसहरु घरबारबिहिन भएका छन्।
एमालेले भूकम्पमा परी निधन भएकाहरुलाई श्रद्धान्जली व्यक्त गरेको छ भने घाइते भएकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । पार्टीले भूकम्पका घाइतेहरुलाई उपचारमा कुनै कमी हुन नदिन,घरबार बिहिनहरुलाई तत्काल घरबासको व्यवस्था गर्न सरकारसँग माग पनि गरेको छ।