अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेताहरूको पहलमा १२ वर्षपछि घुर्मी-चतरा खण्डको सडक निर्माण हुँदै

नेताहरूको पहलमा १२ वर्षपछि घुर्मी-चतरा खण्डको सडक निर्माण हुँदै


काठमाडौं-लामो समयदेखि अलपत्र परेको मध्यपहाडी लोकमार्गसँग जोडिने घुर्मी-चतरा खण्डको सडक निर्माण कार्य शुरु हुने भएको छ।

उदयपुर क्षेत्र-२ का प्रतिनिधि सभा सदस्य एवं नेकपा एमाले कोशी प्रदेश कमिटीका सदस्य अम्बरबहादुर रायमाझी, कोशी प्रदेशका पूर्व मन्त्री उत्तम बस्नेत, एमाले कोशी प्रदेश कमिटीका सदस्य एवं लोकतान्त्रिक आदिवासी जनजाती महासंघका उपमहासचिव देवराज राई लगायत टोलीको पहलमा १२ वर्षदेखि अलपत्र रहेको घुर्मी-चतरा खण्डको सडक निर्माण हुने भएको हो।

पहाडका तीन जिल्ला ओखलढुंगा, खोटाङ र सोलुखुम्बुलाई विराटनगरसम्म जोड्ने सबैभन्दा छोटो दुरीको सडक पनि यही हो। कोशी प्रदेश राजधानी विराटनगर आवत-जावत गर्न जिल्लाका नागरिकलाई अब सजिलो हुने भएको छ। विवादका कारण काम रोकिएको आजको दिनसम्म पनि उक्त सडकको काम शुरु हुन सकेको थिएन। तर उदयपुरका प्रतिनिधि सभा सदस्य अम्बरबहादुर रायमाझी, कोशी प्रदेशका पूर्व मन्त्री उत्तम बस्नेत, एमाले कोशी प्रदेश कमिटीका सदस्य देवराज राईको पहलमा अलपत्र रहेको सडकको निर्माण काम शुरु हुन लागेको हाे।

अहिले पहाडका नागरिकहरु कोशी प्रदेश राजधानी जान एक दिन लगाएर २ नम्बर प्रदेशको सिराह, सप्तरी हुँदै सप्तकोशी तरेर जान बाध्य छन् । घुर्मी-कटारी खण्ड साँगुरो र भीरको खच्ची बाटो भएकाले आवत-जावत र ढुवानीमा समस्या भोग्दै आइरहेका छन्।

उदयपुरको घुर्मी-चतरा सुनकोशी सडक कोरिडोर २०६८ सालमा नै बोलपत्र आह्वान गरी काम सुरू गरिएको भएपनि लामो समयदेखि यो सडक अलपत्र अवस्थामा रहेकोले सडक विभाग, मध्यपहाडी लोकमार्ग कार्यालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई तत्काल सडक निर्माणको काम अगाडी बढाउन नयाँ डीपीआर गर्न पहल गरिएको नेता देवराज राईले बताउनुभयो।

उदयपुर क्षेत्र-२ का प्रतिनिधि सभा सदस्य अम्बरबहादुर रायमाझीको नेतृत्वको टोलीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री, मन्त्रालयका सचिव तथा सडक विभाका निर्देशकलाई भेटी सडकको अवस्था र समस्याको बारेमा जानकारी गराएको नेता राईले बताउनुभयो। उहाँले भन्नुभयो, ‘उदयपुरको मेरुदण्ड सडकको रूपमा रहेको घुर्मी-चतरा सुनकोशी सडक कोरिडोर, मिर्चैया-कटारी-घुर्मी सडक, गाईघाट-रौतामाई-हलेसी सडक र बेतेनी-माझखर्क सडक तत्काल निर्माणको लागि नयाँ डीपीअर गर्न पहल गरेका थियौं । हाम्रो टीमले पहल गरेपछि सो सडकको निर्माण कार्य शुरु हुन लागेको हो। सडक निर्माण सम्पन्नभएपछि त्यस क्षेत्रका नागरिकलाई आवतजावत गर्न सहज हुनेछ।’

विराटनगर, काडमाडौँ लगायतका सहर पुग्ने छोटो दूरीको सडक भएकाले यसले कृषि, पर्यटनमा फाइदा पुग्ने नेता देवराज राईले बताउनुभयो। उहाँले भन्नुभयो, ‘कोसी करिडोरले उदयपुरको बेलका, त्रियुगा, कटारी नगरपालिका, रौतामाई, ताप्ली र लिम्चुङबुङ गाउँपालिकाका सर्वसाधारणलाई सुविधा पुर्‍याउने छ। यसका साथै यो सडक खोटाङ, सोलुखम्बु र ओखलढुङ्गा जिल्लालाई प्रदेश १ को राजधानी विराटनगरसँग जोड्ने सबैभन्दा छोटो दूरीको सडक हो। यो सुनसरी, धनकुटा, भोजपुर लगायतका पूर्वी नेपाललाई काठमाडौं जोड्ने छोटो दूरीको सडक पनि हो।’

सुनसरीको चतरादेखि सुनकोशी किनार हुँदै उदयपुरको पहाडी क्षेत्रलगायत सातवटा स्थानीय तह हुँदै कटारीको घुर्मी जोड्ने सुनकोशी करिडोर सडक अलपत्र अवस्थामा रहेकोले तत्काल सडक निर्माणका निम्ति सम्बन्धित निकायलाई सबै कुरा जानकारी गरी काम अगाडी बढाउन दबाब दिएपछि काम भएको सांसद अम्बरबहादुर रायमाझीले बताउनुभयो। उहाँले भन्नुभयो, ‘यस क्षेत्रका साना-ठूला योजनका सडकको निर्माण र समस्या समाधान गरी कार्य सञ्चालन गर्ने विषयमा ध्यान दिन अनुरोध पनि गरेका छौं।’

२०६८ सालमा नै बोलपत्र आह्वान गरी घुर्मी-चतरा सुनकोशी सडक कोरिडोरको निर्माण सुरु गरिएको भएपनि १२ वर्षदेखि सो सडक अलपत्र रहेको सम्बन्धित निकायलाई दबाब दिनुपरेको सांसद रायमाझीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘राज्यको अरबौँ लगानी भइसकेको सो सडक विभिन्न मुद्दा मामिलाका कारण रोकिँदा उदयपुर र समग्र कोशी प्रदेश समृद्धिमा नै धक्का लागेकोले समस्या समाधान गरी काम अघि बढाउन दबाब दिनु परेको हो।’

मध्यपहाडी लोकमार्ग आयोजना सँगै घुर्मी-चतरा कोशी कोरिडोर सडक परियोजना उदयपुर र सुनसरी लगाएत सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, भोजपुर, धनकुटा, संखुवासभा, ताप्लेजुङ, पाँचथर जिल्ला समेतका नागरिकहरुको वहुप्रतिक्षित सडक परियोजना भएको सांसद रायमाझीले बताउनुभयो। उहाँले भन्नुभयो, ‘अरुण, तमर, दुधकोसी र सुनकोसी सडक कोरिडोबाट संघीय राजधानी र कोशी प्रदेश राजधानी विराटनगरसँग जोडने मार्ग मात्र नभएर सामाजिक रुपान्तरण र देशको अर्थतन्त्र अभिबृद्धि गर्न, पिछडिएका क्षेत्रका जनताको जीवनस्तर माथि उठाउन, राष्ट्रिय सडक सञ्जालमा जोडेर विकासको मुल प्रभाहमा ल्याउन, गरीबी र बसाईसराई रोक्ने उदेश्यसहित यो सडक परियोजना तयार गरिएको हो।’

ओखलढुंगाको हर्कपुरको सिमाना हुँदै घुर्मी-चतरा सडक उदयपुरको कटारी, त्रियुगा, चौदण्डीगढी र वेलका नगरपालिका र रौतामाई, ताप्ली र लिम्चुङबुङ गाउँपालिकाको सुनकोसी नदी तटीय क्षेत्र हुँदै धरानसम्म जोडिने लिम्चुङबुङ गाउँलिकाका समाजसेवी नेत्रराज राईले बताउनुभयो। उहाँले भन्नुभयो, ‘यो सडक बनेमा पहाडका तीन जिल्ला ओखलढुगा, खोटाङ र सोलुखम्बुबाट कोशी प्रदेशको राजधानी विराटनगरसम्म ५ घण्टामा पुग्न सकिन्छ। यसले घुर्मी-चतरा सडक सुनसरी, धनकुटा, भोजपुरलगायत पूर्वी नेपाललाई काठमाडौंसँग जोड्छ। सिद्धिचरण राजमार्गको ओखलढुंगा खण्डसँग सुनकोसी नदिको पुलले जाडेको उक्त सडक निर्माण भएमा ओखलढुंगाबाट चतारा दुई सय किलोमिटर मात्रै टाढा पर्छ। घुर्मी-चतरा सडक बनेपछि घुर्मीबाट लिम्चुङबुङ गाउँलिका पुग्न धेरै नजिक पर्छ।’

यो सडकको उदयपुरको घुर्मीदेखि सुनसरीको चतरासम्मको १६५ किलोमिटरमध्ये १५ किलोमिटर सडकमा ट्रयाक खोल्ने काम २०६७ मै सुरु भएको थियो। तर साविकको जिल्ला वन कार्यालय उदयपुरले वातावरण प्रभाव मूल्याङ्कन (ईआईए) नगरी निर्माण कम्पनीले काम गर्न थालेको भन्दै काम रोकेको थियो। त्यसपछि सडकको ट्र्याक खोल्ने काम रोकिएको थियो।

सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, भोजपुर लगायत पहाडी जिल्लाबाट छोटो समयमा तराई पुग्ने लक्ष्यसहित घोषणा गरिएको थियो। उदयपुरको घुर्मीदेखि सुनकोशी किनारै किनार चनौटे, रसुवाघाट, फोक्सिङटार, धाप्लाङघाट, रानीटार, वंशिलाघाट हुँदै सुनसरीको चतराघाटसम्मको सडकको ट्रयाक खोल्न करिब ६० करोड लाग्ने अनुमान गरिएको थियो।