अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मंसिरमा एमालेले किन गर्दैछ मध्यपहाडी यात्रा ?

मंसिरमा एमालेले किन गर्दैछ मध्यपहाडी यात्रा ?


काठमाडौं -नेकपा एमालेले मध्यमंसिर देखि मध्यपहाडको यात्राको निधो गरेको छ । २०७३ सालको फागुन २१ गते देखि महेन्द्र राजमार्ग मार्फत मधेसको भूगोलमा मेची महाकालीको यात्रा गरेको एमालेले ७ वर्षपछि पुष्पलाल लोकमार्ग मार्फत मध्य पहाडो यात्रा गर्ने भएको हो ।
नेकपा एमाले केन्द्रीय सचिवालयको आजको बैठकले मंसिर १४ गते देखि तीनस हप्ताका लागि यो यात्रा गर्ने निर्णय गरेको उपमहासचिव प्रदिप ज्ञवालीले जानकारी दिनुभयो । ‘झुलाघाट– चिवा भञ्ज्याङ,समृद्धिका लागि संकल्प यात्रा’ नाम दिइएको यो यात्रा पुष्पलाल लोकमार्ग (मध्यपहाडी राजमार्ग)को पश्चिमी सुरुवाती विन्दु बैतडीको झुलाघाटबाट मंसिर १४ गते विहान साढे ८ बजे सुरु हुने एमालेले जनाएको छ ।

दुई उपमहासचिव प्रदिव ज्ञवाली र विष्णु रिमालको नेतृत्वमा यो यात्राको रेकी गर्न पूर्व र पश्चिमबाट मध्यपहाडको यात्रा गरेको थियो । दुवै टोली नुवाकोटमा भेट भएर काठमाडौं फर्किएका थिए । टोलीले दिएको प्रतिवेदनका आधारमा आजको बैठकले यात्राको मिति तय गरेको एक सचिवालय सदस्यले जानकारी दिए । उनका अनुसार बैठकमा कहाँ कहाँ कोणसभा गर्ने,कहाँ कहाँ आम सभा गर्ने,अध्यक्ष लगायत कुन कुन नेताहरुले सम्बोधन गर्ने त्यसको पनि तय भएको छ । ति नेताका अनुसार मध्यपहाडी लोकमार्गमा पर्ने २६ वटा जिल्लाका ४० वटा ठाउँमा साना ठूला सभा गर्ने पार्टीको तयारी छ ।


उपमहासचिव ज्ञवालीका अनुसार यस एमालेले आयोजना गरेको यस यात्राले मध्यपहाडबाट भइरहेको बाह्य बसाँइसराइ कम गर्न बहस चलाउनेछ । यसैगरी मध्यपहाडी लोकमार्गका निर्माण गर्ने भनिएका १० वटा ठूला सहर चाँडो सम्पन्न गर्न दबाब दिनेछ । यस्तै मध्यपहाडको जलस्रोत,जडिबुटी जस्ता प्राकृतिक स्रोतको पहिचान र परिचालनका लागि बहस चलाउने छ । यसैगरी मध्यपहाडको समृद्धिका सम्भावना पहिल्याउन यात्रा सहयोगी हुनेछ । ‘यी सबै प्रयासहरु भनेको यस क्षेत्रमा पार्टीको पकडलाई बलियो बनाउने हो ’ ज्ञवालीले भन्नुभयो ।
मध्यपहाड एमालेको गढ मानिन्छ । त्यसै क्षेत्रबाट बसाँइसरेर तराइतिर झरेका एमालेका कार्यकर्ता तथा शुभेच्छुकका कारण महेन्द्रराजमार्ग क्षेत्रमा पनि एमालेको पकड बलियो छ । आफ्नो गढ क्षेत्रबाट पार्टीको शक्ति प्रर्दशन गर्ने,जनतासँग अध्यक्ष केपी शर्मा ओलीले प्रत्यक्ष संवाद गर्ने, ठाउँ विशेषका समस्याहरु सुन्ने र समाधानका लागि पहल गर्ने पार्टीको तयारी छ ।