घोराही–दाङको घोराही उपमहानगरपालिका-५ को वसन्तापुरमा जङ्गली जनावर ब्वाँसोको आक्रमणबाट १२ जना बढी घाइते भएका छन् ।
गाउँ नजिकै रहेको सामुदायिक वनबाट बस्तीमा छिरेको ब्वाँसोले वसन्तापुर, बरलाबोट र गैरागाउँमा महिला, बालबालिका र पुरुषलाई गरेर १२ जनालाई टोकेको वडा अध्यक्ष विवेक बुढाथोकीले जानकारी दिनुभयो।
बिहीबार साँझ र शुक्रबार बिहान बस्तीमा पसेर मानिसलाई टोकेको थियो । बिहीबार बेलुकी करिब ६ बजेतिर जङ्गलबाट आएको ब्वाँसोले वसन्तापुर निवासी ६३ वर्षीया दुर्गाकुमारी केसीलाई घरको आँगनमा खाना पकाइरहेको बेला आक्रमण गरी घाइते बनाएको थियो । दुर्गाकुमारीलाई घुँडादेखि माथि टाेकेको थियो । उहाँको घोराहीस्थित राप्ती स्वास्थ्यविज्ञान प्रतिष्ठानमा उपचारपछि अहिले घर फर्किनुभएको छ ।
स्थानीयका अनुसारलगत्तै सोही ठाउँका १० वर्षीय निशान चौधरीलाई ब्वाँसोले टोकेको थियो। निशानलाई शरीरका विभिन्न स्थानमा ब्वासोले चिर्थाेर्नुका साथै टोकेको थियो । घाइते निशानलाई राप्ती स्वास्थ्यविज्ञान प्रतिष्ठानमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बुटवल रिफर गरिएको छ। ब्वाँसोले पटक पटक गाउँमा छिरेर आक्रमण गर्न थालेपछि स्थानीय त्रसित बनेका छन् । ब्वाँसोले वसन्तापुरमा दुर्गाकुमारी र निशानसँगै धरम चौधरी, सोमती चौधरी, जगबहादुर बुढाथोकी र दीपेन्द्र चौधरीलाई झम्टेको थियो ।
गैरीगाउँमा शुक्रबार बिहान मालती डाँगी बस्नेत, बरलाबोट गाउँमा जोगबहादुर बुढाथोकीलगायतलाई आक्रमण गरेको छ। गम्भीर घाइतेका अस्पताल र सामान्य घाइतेहरुले रेबिजविरुद्धको सुई लगाइएको वडाध्यक्ष बुढाथोकीले बताउनुभयो । अन्यलाई पनि आक्रमण गरे पनि उपचारका लागि गएकाले पहिचान हुन सकेको छैन।
ब्वाँसोले स्थानीयलाई टोक्न थालेपछि नियन्त्रणको प्रयास भइरहेको डिभिजन वन कार्यालय घोराहीका प्रमुख मोहन श्रेष्ठले जानकारी दिनुभएको छ। घटना भएलगत्तै प्रहरी, डिभिजन वन कार्यालयको उद्धार टोली र स्थानीय ब्वाँसो नियन्त्रणको प्रयास गरेप नि सफल हुन नसकेको बताउनुभयो।





प्रतिक्रिया