उदयपुर-जिल्ला प्रशासन कार्यालय उदयपुरले राती १० बजेपछि देउसीभैलो खेल्न प्रतिबन्ध लगाएको छ। राति १० बजेसम्ममात्रै देउसीभैलो खेल्न भन्दै सार्वजनिक सूचना जारी गरेको छ।
जिल्ला प्रशासन कार्यालय उदयपुरले शुक्रवार एक विज्ञप्ति प्रकाशित गरी राती दश बजेपछि देउसीभैलो खेल्न नपाइने जनाएको हो । विज्ञप्ति भनिएको छ, ‘दिपावली एवं छठ लगायतका चाडपर्व सभ्य, मर्यादित, शान्तपूर्ण वातावरणमा एक आपसमा खुशी साटासाट गरी मनाउन अपिल गर्दै जिल्ला प्रशासन कार्यालय उदयपुरले देउसी भैलो सभ्य ढङ्गले राति १० बजेसम्म मात्र अनुरोध गरेको छ।’
जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले एक विज्ञप्ति प्रकाशित गरेर राति १० बजेपछि देउसीभैलो खेल्न नपाइने बताउनु भएको छ।
प्रजिअ गौतमले चाडपर्वको समयमा पटका, आतिशवाजी जस्ता प्रज्ज्वलनशील पदार्थ पड्काउने, किनबेच, ओसार पसार गर्ने, मदिरा सेवन गरी सार्वजनिक स्थलमा होहल्ला गर्ने, जुवा तास, उच्छृङ्खल देउसी भैलो एवं कानूनले निषेध गरिएका कार्य नगर्न/नगराउन सम्पूर्ण जिल्लावासीलाई अनुरोध समेत गर्नुभएको छ।
शुक्रवार नै प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले एक विज्ञप्ति प्रकाशित गर्दै वातावरण संरक्षण ऐन, २०७६ को दफा १५ को उपदफ (६) ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले नेपालभर प्लाष्टिकजन्य फूल गुच्छाको उत्पादन, आयात, विक्री-वितरण वा भण्डारण गर्न पूर्ण रुपमा रोक लगाएको जनाउदै उक्त कानूनी प्रावधान विपरित कोही कसैले प्लाष्टिकजन्य फूल, गुच्छा, मालाहरुको उत्पादन, आयात, विक्री वितरण वा भण्डारण नगर्न आम जनसमुदाय, व्यापारी, व्यवसायी लगायत सम्पूर्णमा अनुरोध गर्नु भएको छ।
प्रतिक्रिया