अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भक्तपुरको गठ्ठाघरमा चितुवाको आक्रमणबाट दुई जना घाइते

भक्तपुरको गठ्ठाघरमा चितुवाको आक्रमणबाट दुई जना घाइते


भक्तपुर-भक्तपुर जिल्लाको मध्यपुर थिमि-३ स्थित गठ्ठाघरमा चितुवाको आक्रमणबाटदुई जना घाइते भएका छन्। एक्कासी बस्तीमा आइपुगेको चितुवाको आक्रमणबाट घाईते हुनेहरुमा गठ्ठाघर बस्ने ३३ वर्षिया संगिता आलेमगर र काभ्रेपलाञ्चोक भुम्लुकी ६५ वर्षिया अमृता कँडेल रहेका छ्न।  

घाईते दुवै जनाको मध्यपुर अस्पतालमा उपचार भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डिएसपी बसन्त पाठकले बताउनुभयो। प्रविन आयल स्टोरको उत्तरतर्फ दुई वटा घरको चेपमा आज बिहान जंगली चितुवा फेला परेको थियो।  

स्थानीय पवित्रा सुनारको घरको कम्पाउण्डभित्र उक्त चितुवा फेला परेको हो। स्थानीयले खबर गरेपछि चितुवा नियन्त्रणमा लिन बिहानै नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र डिभिजन वन कार्यालय सानोथिमि भक्तपुरको टोली घटनास्थलमा पुगेको थियो।

पछि चितुवालाई डिभिजन वन कार्यालय काठमाडौंको प्राविधिकसहितको टोलीले चार पटक डार्ट हानेर नियन्त्रणमा लिएको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत एवम् सूचना अधिकारी सलिना कडालले बताउनुभयो। चितुवा गर्भिणी जस्तो देखिएको र उद्धार गरी चिडियाखाना लगिएको छ। चितुवा नियन्त्रणका लागि काठमाडौंका वन अधिकृत अशोक पराजुली नेतृत्वको टोली खटिएको थियो। 

चिडियाखाना लगेर सुरुमा स्वास्थ्य जाँच गर्ने र स्वास्थ्य सामान्य रहेछ भने जंगलमा लगेर छाडिने वन अधिकृत पराजुलीले बताउनुभयो। चितुवा नियन्त्रणमा लिएको हेर्न स्थानीयको ठूलो भिड लागेको थियो। प्रहरीहरू पनि उल्लेख्य संख्यामा परिचालित भएका थिए।