अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तनहुँका कृषकलाई सयपत्री फूल टिप्न चटारो

तनहुँका कृषकलाई सयपत्री फूल टिप्न चटारो


दमौली–तनहुँका कृषकलाई यतिबेला सयपत्री फूल टिप्न चटारो छ । तिहारका बेला सयपत्री फूलको माग बढी हुने भएकाले कृषक यतिबेला फूल टिपेर माला बनाउने काममा व्यस्त छन् । 

म्याग्दे गाउँपालिका–५ का  सुशन पौडेल सयपत्री फूल बिक्रीका लागि बजारसम्म पुगेको जानकारी दिनुभयो । उहाँले यसै वर्षदेखि म्याग्देखोला छेउमा व्यावसायिक रुपमा सयपत्री फूल खेती सुरु गर्नुभएको थियो । 

यहाँ उत्पादित फूल दुलेगौडा, खैरेनीटार, जामुने, थर्पुलगायतका ठाउँमा फूल बिक्री हुने गरेको छ । उहाँले भन्नुभयो, “सयपत्रीको माला, फूल बिक्रीका लागि बजारसम्म पुगेका छौँ । स्थानीयस्तरमा उत्पादित फूल खरिद गरेर हौसला प्रदान गर्नेमा विश्वस्त छौँ ।”

विदेशबाट फूल आयात गर्नुपर्ने अवस्थाको अन्त्यका लागि आफूले यसै वर्षदेखि फूलखेती तर्फ आकर्षित भएको उहाँको भनाइ छ ।  उहाँले यस वर्ष चार हजार टिटी जातको फूल लगाउनुभएको थियो । तिहारअगावै फूल फुलेर ढकमक्क भएको थियो ।

उहाँले भन्नुभयो, “यो मेरो पहिलो अनुभव हो । दसैँ तिहारलगायतका चाडपर्वमा फूलको माग धेरै हुने र विदेशबाट ल्याउनुपर्ने अवस्था देखेपछि म फूलखेतीमा लागेको हुँ ।” फूलखेतीले आफूलाई उत्साहित बनाएको बताउँदै उहाँले विदेश जानुको साटो आफैँ स्वरोजगार बन्न सक्नुपर्छ भन्ने सन्देश दिन खोजेको बाउनुभयो । 

उहाँले भन्नुभयो, “हामीजस्ता युवाले स्वदेशमै फूलखेती गर्न सक्यौँ भने फूल आयात गर्नुपर्ने अवस्थाको अन्त्य हुन्छ ।” दसैँ, तिहार, एकादशीमा फूलको अत्यधिक माग हुने जनाउँदै उहाँले बजारको व्यवस्थापन मुख्य कुरा भएको बताउनुभयो । “फूल उत्पादन मात्रै गरेर भएन, यसको बजार व्यवस्थापन पनि हेर्नुपर्छ । फूल फुलिसकेको छ, माग पनि आउन थालेको छ”, उहाँले भन्नुभयो । 

अहिले उत्पादन भएको फूललाई चिस्यान केन्द्रमा राखेर पछिसम्म बिक्री गर्न सकिए राम्रो हुने उहाँको भनाइ छ । स् 

फूलखेतीबाट सन्तुष्ट रहेको बताउँदै उहाँले भन्नुभयो, “युवाले रोजगारी पाइन भनेर विदेशिनुको साटो बरु फूलखेती गरे हुन्छ । यसमा सम्भावना छ ।” पौडेललाई फूलखेतीका लागि गाउँपालिकाले सहयोग गरेको छ । पुष्पखेती विकास कार्यक्रमअन्तर्गत पौडेललाई रु ५० हजार सहयोग गरिएको गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “गाउँपालिकालाई फूलमा आत्मनिर्भर बनाउन र युवालाई प्रोत्साहन गर्न पुष्पखेती विकास कार्यक्रम सञ्चालन गरिएको हो । यसले गर्दा युवालाई स्वरोजगार बन्न प्रेरित गर्छ ।” गाउँपालिकाका अन्य वडामा पनि फूलखेती गर्न चाहे सबैलाई सहयोग गरिने उहाँको भनाइ छ । 

बन्दीपुर गाउँपालिका–५ स्थित थुम्कामा ५० रोपनी क्षेत्रफलमा सयपत्री फूल खेती गरिएको छ । तामप्रसाद भट्ट, नेत्रप्रसाद लामिछाने, नारायण लामिछानेलगायत ६० जनाले सयपत्री फूलको खेती गर्नुभएको हो । फूल फुल्न थालेपछि एक बिरुवाबाट करिब दुई वटा माला तयार हुने पुष्प व्यवसायी भट्टको भनाइ छ । एक बिरुवाबाट न्यूनतम रु ५० आम्दानी गर्न सकिने उहाँको भनाइ छ । 

उहाँले व्यावसायिक रुपमा फूल उत्पादन गरेर गत वर्ष रु एक लाख ५० हजार आम्दानी गर्नुभएको थियो । यस वर्ष पनि सोहीअनुसार आम्दानी हुने उहाँको प्रारम्भिक अनुमान छ ।  बिरुवा रोपेको चार महिनाभित्र फूल फुल्न थाल्ने भएकाले थोरै लगानीबाट पनि राम्रो आम्दानी गर्न सकिने उहाँको अनुभव छ । स्थानीय बजारमा मात्र नभई आवश्यक पर्ने फूल चितवनमा पनि उपलब्ध गराउँदै आएको उहाँले जानकारी दिनुभयो ।