अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लक्ष्मी पूजाको दिन विद्युतको माग १४३८ मेगावाट, ५१७ मेगावाट भारत निर्यात

लक्ष्मी पूजाको दिन विद्युतको माग १४३८ मेगावाट, ५१७ मेगावाट भारत निर्यात


काठमाडौँ–यो वर्षको तिहारको लक्ष्मीपूजाको दिन  देशभित्रको विद्युत उच्च माग (पिक डिमाण्ड) १४३८ मेगावाट रेकर्ड गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले लक्ष्मीपूजाको दिन हिजो बेलुका ६ बजे पिक डिमाण्ड गएको वर्षको तुलनामा १३३ मेगावाटले बढेर १४३८ मेगावाट पुगेको रेकर्ड गरिएको हो । गएको वर्ष कात्तिक ७ गते लक्ष्मीपूजाको दिनको विद्युत् पिक डिमाण्ड १३०५ मेगावाट थियो ।

तिहारमा उद्योग, कलकारखाना बन्द हुने भएकाले रेकर्ड गरिएको पिक डिमाण्ड औद्योगिक ग्राहक बाहेकको हो । यसवर्ष प्राधिकरणले पिक डिमाण्ड १३५७ मेगावाट पुग्ने प्रक्षेपण गरी त्यसैअनुसार विद्युत् आपूर्ति व्यवस्थापन गरेको थियो । लक्ष्मीपूजाको दिनको पिक डिमाण्ड देशभित्रैका विद्युतगृहबाट उत्पादन गरी आपूर्ति गरेको थियो । देशभित्रको विद्युत् मागलाई पूरा गरी बचत भएको ५१७ मेगावाट विद्युत् पिक समयमा भारततर्फ निर्यात गरिएको छ । गएको वर्ष लक्ष्मीपूजामा पिक समयमा ४०६ मेगावाट मात्र निर्यात गरिएको थियो ।

लक्ष्मीपूजाको दिन निर्यातसहित प्रणालीमा समग्र विद्युतको माग १९५५ मेगावाट रेकर्ड गरिएको छ । गएको वर्ष प्रणालीको पिक डिमाण्ड १७११ मेगावाट थियो । यस वर्ष लक्ष्मीपूजाको दिन काठमाडौँ उपत्यकाको पिक डिमाण्ड ३६६ मेगावाट रेकर्ड गरिएको छ । गएको वर्ष ३४२ मेगावाट थियो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लक्ष्मीपूजाको दिन विद्युत् माग र आपूर्ति व्यवस्थापनको जानकारी लिन टोलीसहित स्युचाटारमा रहेको भार प्रेषण केन्द्रको कन्ट्रोल रुममा खटिनुभएको थियो ।  

कार्यकारी निर्देशक घिसिङले ७ वर्षअघि लक्ष्मीपूजाको दिनको माग पूरा गर्न २५४ मेगावाट आयात भएको र अहिले आन्तरिक उत्पादनले नै धानेर बचत भएको विद्युत् निर्यात गर्ने अवस्थामा पुग्नु ऊर्जा क्षेत्रमा ऐतिहासिक फड्को भएको बताए । उनले गएको वर्षभन्दा लक्ष्मीपूजाको पिक डिमाण्ड १० प्रतिशत बढ्नु सकारात्मक रहेको उल्लेख गरे ।