अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वराहक्षेत्रमा हरिबोधिनी एकादशी मेला लाग्दै

वराहक्षेत्रमा हरिबोधिनी एकादशी मेला लाग्दै


इनरुवा–सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित वराहक्षेत्र मन्दिरमा कात्तिके हरिबोधिनी एकादशी मेलाको तयारी पूरा भएको छ । प्रत्येक वर्ष वराहक्षेत्र धाममा लाग्ने मेला यस वर्ष यही मङ्सिर ७ गतेदेखि मङ्सिर ११ गते पूर्णिमासम्म लाग्ने छ । 

वराहक्षेत्र संरक्षण मञ्चका अध्यक्ष भक्तबहादुर श्रेष्ठका अनुसार मेलाका लागि बजार, कोशी नदीमा घाटको व्यवस्थापन विद्युत्, खानेपानीलगायत उपसमिति गठन गरिएको छ । मेलाका लागि संरक्षण मञ्चले स्वास्थ्यको जिम्मेवारी वराहक्षेत्र उपस्वास्थ्य चौकीलाई, खानेपानीको जिम्मेवारी वराहक्षेत्र मन्दिर खानेपानी समितिलाई, सरसफाइको जिम्मेवारी वराहक्षेत्र वातावरणीय सरसफाइ संस्थालाई, सुरक्षाको जिम्मेवारी प्रहरी चौकी वराहक्षेत्र, इलाका प्रहरी कार्यालय चतरा महेन्द्रनगरलाई दिएको छ ।

मेला भर्नका लागि आउने भक्तजनका लागि नदीमा सुरक्षित स्नानका लागि बाँसको बार, उज्यालोका लागि बिद्युत्को व्यवस्थापनलगायतका कार्य पूरा गरेको उहाँले बताउनुभयो । मेलाका लागि बगर सम्याउने, रङ  लगाउने, मन्दिर श्रृङ्गार्ने र नियमित सरसफाइ गर्ने कार्य गरेको बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले बताउनुभयो ।

छठका लागि बाँसको सामग्री बनाउँदै मरिक समुदाय  

मिथला क्षेत्रमा मनाइने छठ पर्वका लागि यहाँको मरिक समुदाय बाँसका सामग्री बनाउन व्यस्त छ । सुनसरीको हरिनगरसहित जिल्लाका विभिन्न स्थानमा बसोबास गर्ने मरिक समुदाय बाँसका सामग्री बनाउन जुटेको छ । 

मरिक समुदायका बासिन्दाले छमा प्रयोग हुने कोनियाँ, ढाकी, नाङ्लोलगायत बाँसका सामग्री बनाउने गरेका छन् । बाँसका सामग्रीको माग अत्यधिक रहेको हरिनगर–२ रामनगरभुटहाका वीरेन्द्र मरिकले बताउनुभयो । अहिले गाउँ–गाउँबाट रु एक सय ५० देखि रु तीन सय ५० सयसम्ममा बाँस किनेर ल्याई विभिन्न सामग्री बनाउन थालिएको छ । यस बेलामा मनग्य आम्दनी गर्न सकिने उहाँको भनाइ छ ।  

“छठमा बाँसका सामग्री सबैलाई पुर्‍याउनै गाह्रो हुने गरेको छ । महिना दिनअघिबाटै यसमा लाग्छौँ”, मरिकले भन्नुभयो । रोजगार र पेसा नै बाँसका सामग्री बनाउने भएकाले त्यसमै सक्रिय भएर लागेको र त्यसबाट हुने आम्दनीबाट छोराछोरीको शिक्षामा खर्च गर्ने गरेको उहाँले बताउनुभयो । श्रीमान् र छोराछोरीसँगै छठसम्ममा दुई सय कोनियाँ र ढाकी बनाउने योजना उहाँको छ । 

हरिनगरका मरिकजस्तै कोसी, देवानगञ्ज, गढी, इनरुवा, रामधुनी, बराहक्षेत्र, भोक्राहा, दुहबीलगायत स्थानमा बसोबास गर्ने मरिक समुदायले समेत छठलक्षित बाँसका सामग्री बनाउन थालेका छन् । आधुनिकतासँगै बाँसका सामग्रीको माग घट्दा मरिक समुदाय चिन्तित् छ ।