क्यानडा- नेपालको बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र फिल्म ‘को–हजबेन्ड’ (सहायक श्रीमान) ले क्यानडामा नगद पुरस्कारसहित उत्कृष्ट सर्ट फिल्म अवार्ड जितेको छ ।
क्यानडाको टोरोन्टोमा आयोजित ३६ बर्ष पुरानो प्रतिष्ठित सोसाइटी अफ भिजुअल इन्थ्रोपोलोजी फिल्म एण्ड मिडिया फेस्टिबलमा को–हजबेण्डले तीन सय अमेरिकी डलरसहित आज उत्कृष्ट सर्ट फिल्म अवार्ड जितेको हो । मेन्ट्रो टोरोन्टो सम्मेलन केन्द्रमा आज आयोजित अवार्ड समारोहमा फिल्म फेस्टिबलका सहनिर्देशकद्वय युनिभर्सिटी अफ साउर्दन क्यालिफोर्नियाकी एशोशियट प्रोफेसर जेनिफर कुल र युनिभर्सिटी अफ कोलारोड बोउल्डरका एशोशियट प्रोफेसर क्रिश्चियन ह्यामन्सले को–हजबेण्डका निर्देशक गणेश पाण्डे र निर्मात्री शारदा गैरेलाई पुरस्कार हस्तान्तरण गर्नुभएको थियो । अवार्ड समारोहमा प्रवासी नेपाली मञ्च क्यानडाका अध्यक्ष विश्वम्भर घिमिरे पनि सहभागी हुनुभएको थियो । अमेरिकन एन्थ्रोपोलिजिकल एशोशियन र क्यानेडियन एन्थ्रोपोलोजी सोसाइटीले ३६ बर्षदेखि हरेक बर्ष अन्तर्राष्ट्रिय सम्मेलनसँगै फिल्म र मिडिया महोत्सव गर्दै आएको छ । अमेरिका र क्यानडासहित विश्वका विभिन्न देशबाट ५ हजार जना मानवशास्त्रीहरुको सहभागितामा यसबर्ष टोरोन्टो सम्मेलन केन्द्रमा सम्मेलनका साथै फिल्म र मिडिया महोत्सव भइरहेको छ । उक्त महोत्सवमा संसारभरीबाट मानवशास्त्र र समाजशास्त्रसँग सम्बन्धित हजारौं चलचित्र तथा वृत्तचित्रहरुको प्रतिस्पर्धामा उत्कृष्ट ठहर गरी नेपालको विशिष्ट परिवेशमा बनेको जीवन्त वृत्तचित्र को–हजबेण्डलाई उत्कृष्ट अवार्ड घोषणा गरिएको थियो ।
‘विश्वका प्रतिष्ठित प्राध्यापक र मानवशास्त्रीहरुको माझमा पुरस्कार थाप्न पाउँदा निकै खुसी र गर्व लागेको छ । नेपालमा बनेको डकुमेन्ट्री फिल्मले विभिन्न देशका डकुमेन्ट्रीबीच प्रतिस्पर्धामा जित्नु आफैमा गर्वको कुरा हो । अझ त्यसमा पनि अमेरिका र क्यानडाका क्याम्पस र विश्व विद्यालयमा को–हजबेण्डलाई सन्दर्भ सामाग्रीका रुपमा पठनपाठनमा सहभागी गराइदिने भएको कुरा थाहा पाउँदा निकै खुसी लागेको छ । मानवशास्त्रसँग सम्बन्धित अध्ययन गर्ने विभिन्न विश्वविद्यालयहरुलाई एउटा सन्दर्भसामाग्रीको रुपमा सुवर्ण अवसर समेत प्रदान गर्ने उत्कृष्ट सन्दर्भ सामाग्रीको रुपमा राख्ने संस्थाको तर्फबाट घोषणा गरेकोमा आफैमा गौरवान्वित लागेको छ ’– निर्देशक पाण्डेले भन्नुभयो ।
निर्देशक पाण्डेको को–हजबेन्डले यसअघि पनि विश्वका प्रतिष्ठित चलचित्र महोत्सवहरुमा अवार्डहरु जितिसकेको छ । बहुपति प्रथामा आधारित ३५ मिनेटको यो डकुमेन्ट्री फिल्म कर्णाली प्रदेशको हुम्लामा छायाँकन गरिएको हो । घरमा जति दाजुभाई छन्, एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन अहिले पनि हुम्ला लगायतका हिमाली जिल्लामा विद्यमान छ । सोही विषयलाई निर्देशक पाण्डेले पहिलोपटक पर्दामा उतार्नुभएको हो । निर्देशक पाण्डेले करिब ४ बर्षको छायांकन र रिसर्चबाट सहायक श्रीमान निर्माण गर्नुभएको हो । साइन मिडिया प्रालिले निर्माण गरेको यो वृत्तचित्रको लेखन पनि निर्देशन पाण्डेले नै गर्नुभएको हो । जसको निर्मात्री शारदा गैरे, प्रमुख सहायक निर्देशक एवं दृश्य सम्पादक ईश्वर कोइराला र सहायक निर्देशक नृपराज हमाल हुनुहुन्छ । यसैगरी, चन्द्रमान डंगोल, अविनाश लामाले यो डकुमेन्ट्रीलाई क्यामरामा कैद गर्नुभएको हो । संगीत संयोजन संगीतकार जुगल डंगोलले गर्नुभएको छ ।
यसअघि पनि निर्देशक पाण्डेको बहुचर्चित डकुमेन्ट्री फिल्म ‘भाग्यले बाँचेकाहरु’ ९नेपाल अर्थक्वेकः हिरोज, सर्भाइभर्स एण्ड मिराकल्स०ले पनि डेढ दर्जन अन्तर्राष्ट्रिय अवार्ड जितेको थियो ।
प्रतिक्रिया