अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सांसदको जिम्मेवारी एक, भूमिका अनेक: अम्बरबहादुर रायमाझी

सांसदको जिम्मेवारी एक, भूमिका अनेक: अम्बरबहादुर रायमाझी


काठमाडौँ- नेकपा एमालेका नेता अम्बरबहादुर रायमाझी गत एक वर्षमा सुखी नेपाली जनता र समृद्ध नेपाल निर्माण निम्ति कानुन निर्माणमा संसद् र सांसदको उत्साह नदेखिएकामा सन्तुष्ट हुनुहुन्न। उहाँ कानुन निर्माणमा मात्र नभई सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट नै पनि त्यति सहज ढङ्गबाट कार्यान्वयन हुन नसकेकामा स्पष्ट हुनुहुन्छ। 

नेता रायमाझीले बजेट ल्याइएपछि हालसम्मको कार्यान्वयनको अवस्थाले आफूहरूको काम गर्ने ढाँचा र गति किटान गरेको उदाहरण प्रस्तुत गर्नुभयो। उहाँले कानुन निर्माणका लागि सरकारले सदनमा ठीक समयमा विधेयक नल्याएका कारण यस्तो अवस्था आएको आरोप पनि लगाउनुभयो।

सांसद रायमाझीले भन्नुभयो, ‘विधायकको मूल जिम्मेवारी कानुन बनाउने हो। सदन र समितिमा त्यसकै लागि प्रभावकारी भूमिका खेल्नुपथ्र्याे।  बिजनेस दिने काम त सरकारको हो नि,  त्यो हुँदै भएन। अनि सांसदले पनि उत्साहजनक भूमिका खेल्न पाएनन् ।’

पछिल्लो प्रतिनिधिसभाको निर्वाचन भएको आज ठिक एक वर्ष पुगेको छ। यस अवधिमा सदनका दुई अधिवेशन चले। यसबीचमै सदनले सरकार गठन गर्‍यो । राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख र  विषयगत समितिका सभापतिको चयन भयो । सरकारको वार्षिक बजेट र नीति तथा कार्यक्रम प्रस्तुत भई छलफल हुनाका साथै आर्थिकलगायत कतिपय विधेयक पारित भए भने केही सदन र विषयगत समितिमा छलफलका चरणमा छन्।

वि.सं. २०४३ देखि महेन्द्र बहुमुखी क्याम्पस राजविराजमा विद्यार्थी राजनीतिमा प्रवेश गर्नुभएका रायमाझीसँग २०५४ सालमा साविक रौता गाविस-५ का निर्वाचित सदस्य तथा पार्टी गाउँ कमिटी र इलाका सचिव भई काम गरेको अनुभव छ। उहाँले उदयपुर-काठमाडौं सम्पर्क मञ्च र सगरमाथा अञ्चल सम्पर्क कमिटी अध्यक्ष,  प्रदेश नम्बर १ सम्पर्क कमिटी सचिवालय सदस्य र महाधिवेशन प्रतिनिधिको जिम्मेवारीसमेत सम्हाल्नुभयो।

विधायक  रायमाझीले सांसदको महत्त्वपूर्ण भूमिका कानुन बनाउनु नै भए पनि नेपाली समाज र भूगोललगायत कारणले तिनले विकास निर्माणमा नेतृत्व तथा अन्य सामाजिक दायित्वको भूमिका निर्वाह गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, ‘कानुन निर्माणमा भूमिका खेल्दाखेल्दै पनि निर्वाचन क्षेत्रलाई समृद्ध तुल्याउन, चुनावी घोषणापत्र कार्यान्वयन गर्न र ठिक ढङ्गले विकासलाई अघि बढाउन सांसदले अरू जिम्मेवारी पनि लिनुपर्ने अवस्था छ।’

स्थानीय तह तथा प्रदेश र सङ्घीय सरकारले गर्ने काम फरक फरक रहँदा रहँदै पनि मतदातामा सांसदले सबै खाले भूमिका खेलिदिओस् र सहभागी होइदिओस् भन्ने चाहना रहेको उल्लेख गर्दै उहाँले जनताका अपेक्षा र निर्वाचनका वाचा पूरा गर्नु आफ्नो बाध्यता रहेको स्पष्ट पार्नुभयो। 

उदयपुर क्षेत्र-२ बाट प्रतिनिधिसभामा निर्वाचित रायमाझीका अनुसार मदन भण्डारी राजमार्ग, मिर्चैया-कटारी-घुर्मी-हलेसी जोड्ने सडक, सुनकोशी कोरिडोरलगायत सडक र पहुँच मार्ग जिल्लाका प्राथमिकतामा परेका आयोजना हुन्। कमला र त्रियुगालगायत नदी तटबन्ध र एकीकृत आयोजना, बजार बस्ती विकास, नापी र जग्गाधनी प्रमाणपुर्जा वितरण, लिफ्टिङ खानेपानी, उज्यालो २ नम्बर विद्युतीकरण, राष्ट्रिय राजमार्गमा ट्रमा अस्पताल, ५० शय्याको व्यवस्थित जिल्ला अस्पताल र विद्यालय सुधारका कार्यक्रम पनि जिल्लाका उल्लेखनीय कार्यक्रम हुन्।

संसदीय नियमावलीको पालना गर्दै मर्यादापूर्वक आफ्ना अभिव्यक्ति राख्नेतर्फ जनप्रतिनिधि सधैँ सजग हुनुपर्ने सुझाव दिँदै प्रतिनिधिसभा सदस्य रायमाझीले सांसद देश र जनहितमा दूरगामी असर पु¥याउने कानुन निर्माण र ऐनमा देखिएका अड्चन सुधार गर्नसक्ने हुनुपर्नेमा जोड दिनुभयो। एक  जिज्ञासामा एमाले नेता रायमाझीले भन्नुभयो, ‘भ्रष्टाचार सबैको शत्रु हो, देश र जनतालाई सुशासन र समृद्धि दिने हो भने कुशासन नियन्त्रण र कारबाहीलाई प्रभावकारी बनाइनुपर्छ।’

आर्थिक सङ्कट तथा बेरोजगारी र भ्रष्टाचारका कारण राज्यप्रति जनताको आशा र भरोसा कमजोर देखिएको बताउँदै उहाँले नागरिकलाई सेवा प्रवाह दिने विषयमा पनि राज्यले अभिभावकको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो। सांसद रायमाझीले भन्नुभयो, ‘जनताले विश्वास गर्ने गरी सुधारका कार्यक्रम प्राथमिकताका साथ अघि बढाउनुपर्छ। रोजगारी दिलाउन सक्ने आधार पहिल्याउनुपर्छ, सरकार र राजनीतिक दलले समाजमा सद्भाव एवं विश्वासको वातावरण बनाउनुपर्छ।’

एमाले नेता रायमाझीले देश विकास र समृद्धिका लागि आफ्नो दलले अघि बढाएको ‘समृद्ध नेपाल : सुखी नेपाली’ को नारा कार्यान्वयन गर्न अघि बढेमा राष्ट्रियता, जनजीविका, सामाजिक सद्भाव, वैदेशिक सम्बन्ध वृद्धि गर्न तथा आर्थिक सङ्कट अन्त्य गर्न सहयोग पुग्ने जिकिर पनि गर्नुभयो।

-सांसदसँग रासस