अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपालको नक्शा अद्यावधिक गरेकै कारण प्रधानमन्त्रीबाट हट्नुपर्‍यो: अध्यक्ष ओली

नेपालको नक्शा अद्यावधिक गरेकै कारण प्रधानमन्त्रीबाट हट्नुपर्‍यो: अध्यक्ष ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको चुच्चे नक्शा अद्यावधिक गरेकै कारण आफू प्रधानमन्त्रीबाट हट्नु परेको बताउनु भएको छ।

दोलखाको भीमेश्वर नगरपालिका वडा-५ का तीनवटा विद्यालयका विद्यार्थीहरूसँगको साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नक्शा अद्यावधिक गरेकै कारण आफू प्रधानमन्त्रीबाट हट्नुपरेको र देशका लागि नभई अरूका लागि कम्फर्टेबल सरकार गठन भएको स्पष्ट बताउनु भएको हो।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज भएको साक्षात्कारमा अध्यक्ष ओलीले विद्यार्थीहरूले राखेका जिज्ञासाको जवाफसहित सम्बोधन गर्नुभयो। विद्यार्थीहरूले शिक्षाको गुणस्तर सुधार, उच्च शिक्षाका लागि विदेश जाने प्रवृत्ति, शिक्षा नीति, चुच्चे नक्शा प्रकाशनपछि अद्यावधिक भएको नेपालको नक्शा र भूभागका साथै देशको विकास र समृद्धिका विषयमा जिज्ञासा राखेका थिए भने अध्यक्ष ओलीले जवाफ दिनु भएको थियो।

अध्यक्ष ओलीले आफू प्रधानमन्त्रीबाट हटेपछि मुलुकमा नेपालको स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डताप्रति गर्व गर्ने सरकार छैन भन्ने कुरा विद्यार्थीहरूले बुझ्नुपर्ने स्पष्ट पार्नुभयो। २०७४ सालमा आफू प्रधानमन्त्री हुँदा कालापानी क्षेत्रमा भारतले सेना राखेको ५८ बर्ष भइसकेको र कुर्सी खोसिएला, गुम्ला भन्ने डरले त्यसअघि कुनै पनि सरकारका प्रधानमन्त्री, मन्त्रीहरूले भारतीय सेना रहेको ठाउँभन्दा पश्चिम पनि नेपालको भू-भाग छ भन्ने उच्चारण समेत नगरेको बताउँदै उनले आफू सरकारबाट बाहिरिएपछि बनेका सरकारले पनि कुर्सी जोगाउनकै लागि कालापानी क्षेत्रको नेपाली भू–भागका बारेमा बोल्न नसक्ने अवस्थामा रहेको स्पष्ट पार्नुभयो।

अध्यक्ष ओलीले मुलुकमा अस्वस्थ राजनीतिका कारण अहिले विकास निर्माणको काममा रोकावट भएको बताउनुभयो। साक्षात्कार कार्यक्रममा पार्टी पोलिटव्यूरो सदस्यद्वय आनन्द प्रसाद पोखरेल, पार्वत गुरुङ लगायतको पनि उपस्थिति थियो ।