अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मंसिर ७ गते माइतीघर मण्डलामा निषेधज्ञा,युवा संघले तीनकुनेमा विरोध प्रदर्शन गर्ने

मंसिर ७ गते माइतीघर मण्डलामा निषेधज्ञा,युवा संघले तीनकुनेमा विरोध प्रदर्शन गर्ने


काठमाडौं -जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघर मण्डलदेखि नयाँ बानेश्वर चोकसम्म निषेधित क्षेत्र तोकेको छ।

सोमबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले काठमाडौंको माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म ३० दिनका लागि निषेधित क्षेत्र घोषणा गर्नु भएको हो।

नेकपा एमाले निकट युवा संघ मंसिर ७ गते माइतीघरमा प्रदर्शन गर्ने तयारी थियो ।।

एकैदिन दुई पक्षको प्रदर्शन हुँदा शान्ति सुरक्षामा समस्या आउने भन्दै प्रशासनले माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३(क) बमोजिम आदेश जारी गरेको हो।

पद्मोदय मोडदेखि सिंहदरबार पश्चिम गेट, सर्वोच्च अदालत हुँदै माइतीघर मण्डलको चारैतर्फ र माइतीघर मण्डलदेखि बबरमहल, बिजुलीबजार पुल हुँदै नयाँ बानेश्वर चोकसम्म निषेधित क्षेत्र तोकिएको हो।

‘एक वा सोभन्दा बढी समूहद्वारा एकै मिति, समय र स्थानमा भेला जम्मा भई अनसन, धर्ना, घेराउ र विरोध प्रदर्शन जस्ता कार्यक्रमहरू आयोजना गर्दा विभिन्न समूहबीच आपसी विवाद, झैझगडा, मुठभेड एव‌ भिडन्त भई शान्ति सुरक्षा भंग हुनसक्ने तथा हुलदंगा वा अशान्ति हुनसक्ने भई समग्र रूपमा शान्ति सुरक्षामा प्रत्यक्ष असर पर्छ,’ प्रमुख जिल्ला अधिकारी बस्नेतले जारी गरेको आदेशमा भनिएको छ।

जिल्ला सुरक्षा समिति काठमाडौंको सिफारिसको आधारमा सोमबारदेखि ३० दिनसम्मका लागि ५ जना भन्दा बढी व्यक्ति भेला भएर जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन लगायत विरोध प्रदर्शन गर्न निषेध गरेको हो।

आज प्रमुख जिल्ला अधिकारी बस्नेतले युवा संघ र दुर्गा प्रसाईं पक्षबीच अलग अलग छलफल गर्नुभएको थियो।

जसकारण दुबै पक्षलाई माइतीघर मण्डलमा कार्यक्रम गर्न रोक्दै अन्यत्र नै कार्यक्रम गराउन लागेको हो।

‘अहिलेलाई हामीले निषेधको आदेश दिएका छौ‌’ प्रमुख जिल्ला अधिकारी बस्नेतले भने, ‘पछि हामी उहाँहरूसँग छलफल गरेर प्रदर्शनको लागि छुट्टाछुट्टै ठाउँ तोक्छौं।’
जिल्ला प्रशासन कार्यालयले निषेधज्ञा जारी गरेपछि युवा संघ नेपालले गर्ने विरोध प्रदर्शन तीनकुनेमा हुने भएको छ । युवा संघ नेपाल इन्चार्ज एवं एमाले पोलिटव्यूरो सदस्य महेश बस्नेतले सामाजिक सञ्जालमा लेख्दै ७ गतेको कार्यक्रम तीनकुनेमा हुने जानकारी गराउनुभएको छ ।