अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गठबन्धन सरकारका कारण जनतामा निराशा छायो: अध्यक्ष ओली

गठबन्धन सरकारका कारण जनतामा निराशा छायो: अध्यक्ष ओली


काठमाडाैं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारका कारण जनतामा निराशा छाएकाे बताउनुभएकाे छ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुक्रबार बसेकाे युवा संघ नेपालकाे केन्द्रीय कमिटी बैठकलाई सम्बाेधन गर्दै अध्यक्ष ओलीले सरकार निकम्मा भएका कारण जनतामा निराशा छाएकाे बताउनुभयाे।

सरकारकाे ध्यान देश, जनता र विकासमा केन्द्रित हुनुपर्नेमा अन्यत्र केन्द्रित रहेकाले जनतामा निराशा छाएकाे अध्यक्ष ओलीले बताउनुभयो। सरकारका हरेक गतिविधि जनभावना विपरीत, संविधान विपरीत र राष्ट्रहित विपरीत रहेकाले जनतामा चरम निराशा छाएकाे अध्यक्ष ओलीले बताउनुभयाे।

सरकारले जनतामा आशावादी र आत्मविश्वास जगाउनुपर्नेमा उल्टै निराशा जगाउने गतिविधि गरिरहेकाे उहाँले बताउनुभयाे।माओवादी हिंसाका कारण युवाहरु विदेश जानुपरेकाे पनि अध्यक्ष ओलीले बताउनुभयाे । शान्ति प्रक्रियाका बाँकी काम र संक्रमणकालीन न्यायलाई टुंगाेमा पुर्‍याउनु पर्नेमा सरकारले हिंसाकाे महिमागान गाएर बसेकाे उहाँले बताउनुभयाे । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिंसा दिवसमा बिदा दिने निर्णय गरेर हिंसालाई पश्रय दिन खाेजेकाे पनि अध्यक्ष ओलीले बताउनुभयाे ।

युवाहरुलाई निराशाबाट बाहिर निकाल्नुपर्ने र त्यसकाे अगुवा एमालेका नेता-कार्यकर्ताले गर्नुपर्ने उहाँले बताउनुभयाे । देशकाे अप्रेसन गर्नुपर्ने बेला भएकाे भन्दै उहाँले चिन्ता नलिन र सिर्जनात्मक काम गर्न सुझाव दिनुभयाे। विद्वान पुर्खामा रहेकाे जेनेटिक मेमाेरी रहेका नेपाली युवा निराशा हुन नहुने भन्द अध्यक्ष ओलीले सानाे भएपनि उद्यम गर्न सुझाउनुभयाे। 

गठबन्धन सरकारका कारण युवा विदेश पलायन बढेकाे, देशकाे अर्थतन्त्र ओरालाे लागेकाे, जनतामा निराशा छाएकाे, व्यापार व्यवसाय ठप्प रहेकाे र देश निक्कै गम्भीर अवस्थामा रहेकाे उहाँले बताउनुभयाे ।

सामाजिक सद्‍भाव खल्बल्याउने र दण्डहिनतालाई प्रश्रय दिने काम गठबन्धन सरकारले गरिरहेकाे अध्यक्ष ओलीले बताउनुभयाे। उहाँले भन्नुभयाे, ‘विश्वविद्यालयमा सत्ता पक्षले नै तालाबन्दी लगाउँछ, गठबन्धनका भलाद्‍मीहरुले प्राेफेसरकाे ढाड भाँचिदिन्छन्, याे त हाम्राे मान्छे हाे थुन्न पर्दैन भनिन्छ, अदालतले भएपनि २ वर्ष थुन्ने आदेश दियाे, म यसकाे स्वागत गर्छु, सत्ता स्वार्थका लागि कर्तव्य ज्यान मुद्दाका अभियुक्तलाई माफी दिने कुरालाई अदालतले राेकेकाे छ, यसमा खुशी छु, नेपाली जनता खुशी छन् ।’

आरती शाहकी आमा न्यायका लागि बस्दा सरकारले ब्यानर च्यात्न, थम्क्याउन प्रहरी परिचालन गरेकाे अध्यक्ष ओलीले बताउनुभयाे ।  भाँडिएको राजनीतिलाई ठिक ट्रयाकमा ल्याउनुपर्ने भन्दै अध्यक्ष ओलीले आफूहरु पञ्चायत फाल्छौं भन्ने साहससाथ आफूहरुले राजनीति गरेको स्मरण गर्नुभयो । राजनीतिमा देखिएको विकृतिलाई सुसंस्कृतितिर फर्काउनुपर्ने उहाँले बताउनुभयो ।