अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौंका सीडीओले भन्नुभयो: प्रसाईंलाई नजरबन्द गरेका छैनौं, गैरकानुनी हर्कत चल्दैन

काठमाडौंका सीडीओले भन्नुभयो: प्रसाईंलाई नजरबन्द गरेका छैनौं, गैरकानुनी हर्कत चल्दैन


काठमाडौँ-काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई नजरबन्द नगरिएको बताउनु भएको छ।

शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौँले उपत्यकाको सुरक्षा व्यवस्थालाई मध्यनजर गरी बोलाएको सुरक्षा निकायको बैठकपछि उहाँले सो कुरा बताउनु भएको हाे ।

उहाँले भन्नुभयो, ‘उहाँहरूले कार्यक्रमलाई शान्तिपूर्ण बनाउनुपर्ने ठाउँमा हिजो बेलुका कानूनलाई चुनौती दिने र गैरकानुनी हर्कत गर्ने काम गर्नुभयो। यस्ता गैरकानूनी हर्कत काठमाडौंमा चल्दैन। उहाँलाई हामीले नजरबन्दमा राखेको छैन। उहाँ काठमाडौं छिरेदेखि सुरक्षा प्रबन्ध गर्दै आएका छौँ।’

उहाँले जारी विरोध प्रदर्शनलाई सुरक्षित र व्यवस्थित बनाउन उपत्यकामा सुरक्षा व्यवस्था मजबुत बनाएको बताउनु भयो।

उहाँले भन्नुभयो, ‘हिजोदेखि दुई वटा पक्षको काठमाडौँमा कार्यक्रम थियो। आज एउटा पक्षले त्यो कार्यक्रमलाई निरन्तर रुपमा अनिश्चित कालसम्म गर्ने भनेर अघि बढाइरहेको छ। त्यो सन्दर्भमा काठमाडौँको सुरक्षा चुनौती विश्लेषण गर्ने र यथोचित सुरक्षा प्रबन्ध मिलाउने सन्दर्भमा हामी बसिरहेका छौँ ।’

बैठकमा काठमाडौँको सुरक्षा चुनौती विश्लेषण गरिएको र यथोचित सुरक्षा प्रवन्ध मिलाउने बारेमा सम्बन्धित निकायहरूसँग छलफल गरेको पनि उहाँले बताउनु भयो ।

‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नामक समूहले काठमाडौँमा कार्यक्रम गर्ने भन्ने सन्दर्भमा स्थानीय प्रशासनसँग कुनैपनि अनुमति नलिकन आज तीनकुनेमा कार्यक्रम गर्ने र त्यहाँ भेला भइ निषेधित क्षेत्र तोड्ने, सार्वजनिक सम्पतीमाथि क्षति पुर्‍याउने, विशिष्ट पदाधिकारीको निवासमा घेराउ गर्ने, उहाँहरुमाथि आक्रमण गर्ने भन्ने अराजक शैलीको कार्यक्रम सार्वजनिक गरेकाले सो कार्यक्रमको सन्दर्भमा तीनकुने क्षेत्रमा अनुमति नलिकन पाइँदैन भनेका थियौँ, बल्खुमा गर्नु भन्दा उहाँहरू आजसम्म अनुमति लिन आउनुभएको छैन,’ उहाँले भन्नुभयो।