अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सचिव भट्टराईको प्रश्न: पूर्वराजाका चलखेल र गणतन्त्रविरोधी बारे सरकारको धारणा के हो ?

सचिव भट्टराईको प्रश्न: पूर्वराजाका चलखेल र गणतन्त्रविरोधी बारे सरकारको धारणा के हो ?


ताप्लेजुङ-नेकपा एमालेका सचिव एवं प्रतिनिधिसभाका सांसद योगेश भट्टराईले  गणतन्त्र अन्त्य गर्छु भन्दै हिंड्नेहरु र पूर्व राजा ज्ञानेन्द्र शाहका गतिविधिहरुमाथि सरकारले तत्काल धारणा सार्वजनिक गर्नुपर्ने माग गर्नुभएको छ।

गृह जिल्ला ताप्लेजुङमा आइतबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले जस्केलाबाट नछिरी सक्रिय भई खुला राजनीतिमा आउन चुनौती दिनुभएको हाे।

सचिव भट्टराईले  भन्नुभयो, ‘आज सरकार र सरकारको नेतृत्व गर्ने दल र नेताहरु प्रधानमन्त्री यी तमाम कुरामा किन रमिता हेरेर बसेका छन् । सरकारको धारणा के हो। ज्ञानेन्द्र शाहप्रति गरेका गतिविधिप्रति सरकारको धारणा के हो ? तथाकथित दुर्गा प्रसाईलाई उचालेर काठमाडौंमा गरेको प्रदर्शनप्रति सरकारको धारणा के हो ? राजतन्त्र फर्काउछु भन्नेहरु प्रति सरकार के भन्छ। गणतन्त्र अन्त्य गर्छु भन्नेहरु प्रति प्रचण्डजी के भन्नु हुन्छ। हामी सरकारलाई सोधिरहेका छौं।’

सचिव भट्टराईले राजेन्द्र लिङदेनलाई महासचिव र आफू अध्यक्ष बनेर खुल्ला राजनीतिमा आउन शाहलाई चुनौती दिनुभयो।

पूर्व राजालाई आवास, सुरक्षा लगायतको सुविधा दिएको स्मरण गर्दै उहाँले यस्ता गतिविधि गरे शाहलाई कारबाही गर्नुपर्ने बताउनुभयो। ‘हामीले मानवीय नाताले पूर्व राजाकी आमालाई नारायणहिटीमा बस्न दिएका छौं, पूर्व राजालाई सुरक्षा दिएका छौं, आवास सुविधा दिएका छौं,’ भट्टराईले भन्नुभयो, ‘फ्रान्सका राजाले यस्तो सुविधा पाएनन्, अरु देशका राजा कत्लेआम भए, त्यसकारणले यो अवस्था बुझ्न म ज्ञानेन्द्र शाहलाई अपिल गर्दछु।’

शाह व्यापारी भएकाले उद्योग खोल्न र व्यवसायमा लाग्न सुझाव दिनुभएको छ। ‘उद्योग धन्दा खोलुन् न । मानिसहरुलाई रोजगारी दिउन्। उहाँसँग पैसा छ। विदेशमा राखेको पैसा छ। राष्ट्रिय उद्योग खोलुन्। लगानी गरुन्। हिजो कमाएको पैसा राखेका छन,’ भट्टराईले भन्नुभयो, ‘त्यसको सम्मान र सुरक्षा राष्ट्रले गर्छ। तर राजनीतिक अधिकारकालागि सडकमा आउने हो भने जस्केलावाट छिर्न कोसिस गर्ने होइन।’

उहाँले धार्मिक सहिष्णुता विथोल्न, अराजकता मच्चाउन, राजनीतिक अस्थितरता मच्चाउन र जातीय सद्धभाव विथोल्ने काम नगर्न चेतावनी दिनुभयो । समाज पछाडि नफर्कने भएकाले सडकमा नाङ्गो नाच नचाउनुको अर्थ नरहने सचिव भट्टाराईको धारणा छ।

यस्ता गतिविधिहरुलाई छुट दिने र अहिलेको परिस्थिति सम्हाल्न नसके सरकार छोड्न उहाँले प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो। ‘एमाले र अरु भिड्छन र आनन्दले सत्ता चलाउँछु भन्ने भ्रम पालेको भए प्रचण्डीले त्यो दिवा स्वप्न नदेखे हुन्छ’ सांसद भट्टराईको चुनौती छ। उहाँले नेपाली कांग्रेस जस्तो लोकतान्त्रिक पार्टी यी तमाम रमिता हेरेर बसेको प्रति आश्चर्य व्यक्त गर्नुभयो।

भट्टराईले भन्नुभयो, ‘२०४६ साल, २०६३ सालजस्तै एमाले र कांग्रेसले मिलेर जानुपर्ने अवस्था आउन सक्छ। परिस्थिति जटिल बनेको छ। अर्थतन्त्र जटिल अवस्थामा पुगेको छ। अराजकता मच्चिएको बेला कांग्रेस र एमाले गम्भिर बन्नुपर्छ।’

नेकपा एमाले जिल्ला कमिटीले आइतबारका लागि आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा सहभागिता जनाउन सचिव भट्टराई गृह जिल्ला ताप्लेजुङ आउनुभएको हो। उहाँसँगै एमाले पोलिटब्यूरो सदस्य तथा प्रदेशसभा सदस्य तिलकुमार मेन्याङ्बो, केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य उर्मिला थेबेलगायतका नेतृत्वहरु कार्यक्रममा सहभागी बन्नुहुने एमाले जिल्ला कमिटीका कार्यवाहक अध्यक्ष सन्तोष खतिवडाले जानकारी दिनुभयो।