अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले कर्णालीलाई केन्द्रको निर्देशन : उपसचिवमा पद्मा खड्कालाई बहाल गर्नु 

एमाले कर्णालीलाई केन्द्रको निर्देशन : उपसचिवमा पद्मा खड्कालाई बहाल गर्नु 


सुर्खेत-नेकपा एमाले कर्णाली प्रदेश अधिवेशनमा निर्वाचित गरेका उपसचिवलाई हटाएर पार्टी केन्द्रले नयाँ उपसचिव चयन गरेको छ ।

असोज १० देखि १५ गतेसम्म सुर्खेतमा भएको प्रदेश अधिवेशनको पदाधिकारी चयन समावेशी नभएको भन्दै असन्तुष्ट पक्षले पार्टी केन्द्रीय कार्यालयमा उजुरी हालेको थियो । उक्त उजुरीमा सुनुवाइ गर्दै पार्टी सचिवालयको २२ कात्तिकको बैठकले अधिवेशनकी उपविजेता पद्मा खड्कालाई उपसचिव पदमा कायम गरेको छ । 

पार्टी महासचिव शंकर पोखरेलले कर्णाली प्रदेश कमिटीका अध्यक्षलाई एक पत्र लेख्दै खड्कालाई बहाल गराउन निर्देशन दिनुभएको छ । महासचिव पोखरेलले निर्देशन गरेको पत्रमा भनिएको छ ‘कर्णाली प्रदेश अधिवेशनमा पदाधिकारीमा महिला आरक्षण नगरिएकोमा उपसचिव पदमा महिला कोटा हुनुपर्ने दाबीसहितको निवेदनलाई समेत ध्यानमा राखी विजयी पुरुष उम्मद्वारमध्ये दोस्रो मत ल्याउने रमेश शाहीका स्थानमा महिला उम्मेदवारमध्ये सबैभन्दा बढी मत ल्याउने पद्मा खड्कालाई उपसचिवमा बहाल गर्ने ।’

पोखरेलले जारी गरेको पत्रमा हाल कायम रहेका उपसचिव रमेश शाहीलाई प्रदेश कमिटीमा मनोनीत गर्न निर्देशन दिनुभएको छ । 

अधिवेशनले नेतृत्व चयन गरेको घोषणा गरेलगत्तै अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व समावेशी नभएको भन्दै सार्वजनिक रुपमा असन्तुष्टि व्यक्त गर्नुभएको थियो । उहाँले अधिवेशनले गरेको यो त्रुटि सच्याइने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । कर्णाली बाहेक सबै प्रदेशमा महिला उपसचिव थिए । पार्टीको यो निर्णयसँगै प्रदेशमा रहने दुई जना उपसचिवमध्ये सबै प्रदेशमा एक जना महिला भएका छन् ।