अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मध्यपहाडका स्थानीय सरकारका प्रमुख-उपप्रमुख भन्छन्: सडकले सुविधा त दियो अब गाउँमै रोजगारी चाहियो

मध्यपहाडका स्थानीय सरकारका प्रमुख-उपप्रमुख भन्छन्: सडकले सुविधा त दियो अब गाउँमै रोजगारी चाहियो


काठमाडौँ-नेकपा एमालेले भोलिदेखि मध्यपहाडी लोकमार्ग यात्राको सुरु गर्दैछ। भोलि बिहान साढे ८ बजे अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटबाट उद्घाटन गर्ने यात्रा पूर्वको चिवाभञ्ज्याङ पुगेर टुंगिनेछ। यो यात्रा २१ दिनको हुनेछ।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालको नाममा राजमार्ग नामकरण गरिएको छ। मध्यपहाडी राजमार्गको लम्बाइ करिब १ हजार ८७९ किलोमिटर छ। यसले नेपालका मध्यपहाडी जिल्लाहरुलाई जोडेको छ। मध्यपहाडका २६ वटा जिल्लालाई छाएर राजमार्ग अघि बढेको छ। पाँचथरको चिवाभञ्ज्याङबाट सुरु भएको यो राजमार्ग बैतडीको झुलाघाटसम्म रहेको छ।

मध्यपहाडी लोकमार्गले पहाडी जिल्लाहरुको आवागमनलाई सहज गर्नुका साथै त्यहाँको विकासमा पनि तीव्रता ल्याएको छ। मध्यपहाडी लोकमार्गले पहाडी जिल्लाका सदरमुकाम र प्रमुख सहरहरु पनि छोएकाले आयात निर्यातमा पनि सहज भएको छ। सडकको केही ठाउँमा निर्माण कार्य जारी रहेको छ। राजमार्ग निर्माण सम्पन्न भएपछि पहाडी जिल्लाको जनजीवनमा निकै परिवर्तन आउने त्यहाँका जनप्रतिनिधिहरुको भनाइ छ। यो राजमार्गका विभिन्न ठाउँमा १० वटा नयाँ सहरहरुको विकास पनि गरिएको छ। जसअन्तर्गत पाँचथरको फिदिम, तेर्हथुमको वसन्तपुर, सिन्धुलीको खुर्कोट, धादिङको बैरेनी, तनहुँको डुम्रे, बागलुङको बुर्तिबाङ, रुकुमको चौरजहारी, दैलेखको राकमकर्णाली, अछामको साँफेबगर र बैतडीको पाटनमा नयाँ सहरको परिकल्पना गरिएको छ।

मध्यपहाडी लोकमार्गले पहाडका २६ जिल्ला छोएको छ। दुर्गम मानिएका पहाडी जिल्लामा मध्यपहाडी लोकमार्गले छोएपछि त्यहाँ आर्थिक र सामाजिक रुपमा परिवर्तन आएको जनप्रतिनिधिहरु बताउँछन्।

आफ्नै जिल्लाको सदरमुकाम पुग्न एक दिन लाग्ने ती जिल्ला अहिले काठमाडौँ पनि केही घण्टामै पुग्ने सक्ने भएका छन्। यस्तै त्यहाँका उत्पादनले सहज बजार पाएको छ। सिन्धुलीको फिकल गाउँपालिकाकी अध्यक्ष पार्वती सुनुवारले मध्यपहाडी लोकमार्गको निर्माण पछि सिन्धुलीवासी सडक पहुँचमा पुगेको बताउनुभयो। उहाँले अहिले सिन्धुलीवासीको जनजीवन सुधाराउन्मुख रहेको पनि बताउनुभयो।

उहाँले भन्नुभयो, ‘संघीय राजधानीसँग छोटो दुरीमा कनेक्सन भयो। जिल्ला सदरमुकाम, अन्य जिल्लासँग पनि सहज पहुँच भयो। आर्थिक गतिविधि बढ्यो, बसाइसराइ गरेर जाने क्रम पनि घटेको छ।अहिले बसाइसराई छैन। पुरै घटेको छ।
अध्यक्ष सुनुवारले मध्यपहाडी लोकमार्गले छोएको ठाउँमा नयाँ सहर बस्दै गएको बताउनुभयो। गाउँपालिका केन्द्र लगायत अन्य ठाउँमा नयाँ सहर बस्दै गएको उहाँले बताउनुभयो।

अध्यक्ष सुनारले भन्नुभयो, ‘जिल्लामा फलफूल, दाल, खसी-बोका उत्पादन हुने गरेका छन्। तरकारी, जडिबुटी निर्यात गर्न सहज भएको छ।’

व्यापारीहरु गाउँघरमै पुग्ने गरेका छन्। पहिला खसी-बोका काठमाडौँ ल्याउन एक महिना लाग्थ्यो। अहिले एक दिन पनि लाग्दैन। किसानको उत्पादन गरेको सामानलाई बजारसम्म ल्याउन सहजता पुगेकै छ।

अध्यक्ष सुनुवारले मध्यपहाडी लोकमार्ग निर्माण भएपछि जिल्लावासीले सहज रुपमा स्वास्थ्य उपचार पाएको पनि बताउनुभयो।
यस्तै सिन्धुली जस्तै जाजरकोटमा नागरिकको पनि मध्यपहाडी लोकमार्गले जनजीवन सहज बनाएको छ। जाजरकोटको भेरी नगरपालिकाका मेयर सिपी घर्तीले मध्यपहाडीले जनजीवनमा परिवर्तन ल्याएको बताउनुभएको छ। मध्यपहाडीले आफ्नो नगरपालिकाको पाँच वडा छोएको बताउँदै उहाँले आफूहरु राष्ट्रिय राजमार्गको पहुँचमा पुगेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘मध्यपहाडी लोकमार्गले यातायातको सहज भएको छ। यसलाई अझै व्यवस्थित गरेर कृषि, पर्यटन आदीलाई अगाडि बढाउन सक्यो भने धेरै राम्रो हुनेछ।’

मेयर घर्तीले आफ्नो नगरपालिका कृषि उत्पादन बढाएर मध्यपहाडी राजमार्गको प्रयोग गरेर निर्यात गर्ने लक्ष्यमा रहेको बताउनुभयो। किसानले उत्पादन गरेका बस्तुमा विशेष ध्यान दिएर निर्यात गर्नेमा आफू लागिरहेको बताउनुभय। उहाँले भन्नुभयो, हाम्रो नगरपालिकाको कृषि शाखा निर्यातलाई बढाउनेतर्फ अगाडी बढी रहेको छ। हाम्रा कृषि गतिविधि पनि त्यही अनुसार अगाडि बढेका छन्।

उहाँले मध्यपहाडी लोकमार्ग आए पनि आफ्नो नगरपालिका र जिल्लाको बसाँइसराइ नरोकिएको बताउनुभयो। उहाँले भन्नुभयो, ‘बसाइँसराई रोकिएको छैन। बसाइ सर्ने क्रम जारी छ। बसाँइसराइ रोक्नको लागि यहाँको कृषि, पर्यटन, सुरक्षा, खानेपानी दिन सकियो भने यो समस्या अलि कम गर्न सकिन्छ। हामी त्यतातिर लागिरहेका छौँ।’

यस्तै मध्यपहाडी लोकमार्गको पश्चिमी विन्दु बैतडीबासीको जनजीवनमा पनि परिवर्तन आएको छ। त्यहाँका नागरिकले विकासको अनुभूति गर्न पाएका छन्। मध्यपहाडी लोकमार्ग आएपछि पहिलेभन्दा धेरै परिवर्तन भएको दशरथचन्द नगरपालिकाकी उपप्रमुख कौशिला चन्दले बताउनुभयो। उहाँले जिल्लामा विकास आएसँगै जनताको जीवनमा पनि परिवर्तन आएको बताउनुभयो। उहाँले मध्यपहाडी राजमार्गले पनि बसाँइसराई रोक्न् नसकेकोमा चिन्ता व्यक्त गर्नुभयो।

उपप्रमुख चन्दले विकास आए पनि बाँदर आतक भने नरोकिएको बताउनुभयो। उहाँले आफ्नो नगरपालिकामा उत्पादन बस्तु बाँदरले नराख्ने गरेको बताउनुभयो। बाँदरले उत्पादित बस्तु नराख्ने भएकाले किसानहरुले खेति गर्न छाडेको उहाँको दुखेसो छ। उहाँले भन्नुभयो, बाँदरहरुले लगाएको बाली राख्दैनन्। नगरपालिकाको ५ ६ वडामा बाँदर आतंकले गर्दा केही कुरा पनि उत्पादन हुन सकेको छैन। निर्यातको लागि उत्पादन हुनुपर्‍यो, उत्पादननै छैन भने निर्यातको कुरा परको हो।

उपप्रमुख चन्दले झुलाघाटमा पक्की पुल बनाउने चुनावमा नेताहरुले आश्वासन मात्रै दिने गरेको बताउनुभयो। उहाँले नगरपालिकाको बजेटले मोटर पुल नबन्ने भन्दै सबै राजनीतिक दलका शिर्ष नेताहरुसँग पुलको लागि नगरपालिकाले पहल गरेको बताउनुभयो।

उपप्रमुख चन्द भन्नुहुन्छ, ‘सडकले सुविधा त दियो तर अब गाउँमै रोजागरी भएन भने मानिसहरु यहाँ कसरी टिक्छन् र । हाम्रो बुत्ताले भ्याएसम्म त रोजगारी दिने प्रयास गरेका छौं। तर सानो बजेटमा हामीले ठूला उद्योगको कलपना पनि गर्न सक्दैनौं।’

यस्तै नुवाकोटको लिखु गाउँपालिकाका अध्यक्ष अशोक कुमार कार्कीले मध्यपहाडी लोकमार्गले जिल्लाको छोटो दुरी मात्रै समेटेको बताउनुभयो। उहाँले मध्यपहाडी लोकमार्गको सबै ठाउँमा पिच नभएको बताउदै केही ठाउँँमा भने पिच भइरहेको बताउनुभयो। सडक पूर्ण निमार्ण भएको पछि जिल्लाको समग्र विकासमा योगदान पुग्ने उहाँको भनाइ छ।

यता बागलङको बडीगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापाले मध्यपहाडी राजमार्गबाट सबैभन्दा बढी बागलुङ जिल्लालाई सुविधा पुगेको बताउनुभयो। आफ्नो गाउँपालिकामा २५ किलोमिटर दुरी मात्र मध्यपहाडीले भेट्ने भए पनि समग्र जिल्लामा १ सय ४२ किलोमिटर दुरी मध्यपहाडीको भएको बताउनुभयो। उहाँले मध्यपहाडीले बागलुङ रुकुम जस्ता ठाउँका लागि नयाँ बजार र गन्तव्यको ढोका खोलेको बताउनुभएको छ। यो बेलासँग कुरा गर्दै थापाले पहिला पहिला पोखरातिर जाने यहाँको कृषी उत्पादन अहिले गुल्मी पाल्पा हुँदै बुटवलको बजारमा पुग्ने गरेको छ । मानिसहरुको आवातजावत पनि अहिले बुटवलतिर बाक्लिएको जानकारी दिनुभयो।

यता पाँचथरको याङ वारक गाउँपालिकाका अध्यक्ष भीमबहादुर योङ याका अनुसार मध्यपहाडी राजमार्ग यहाँका बासिन्दाका लागि बरदान सावित भएको छ। सडक भएपछि एकैपटक धेरैवटा विकास र समृद्धिका बाटा खुल्ने उहाँको भनाइ छ। योङ याका अनुसार पाँचथरको यो विकट ठाउँमा यति चाँडै सडक आइपुग्ने आशा थिएन तर मध्यपहाडी राजमार्ग आएपछि शाखा सडकहरु पनि तिव्र निर्माण भए। जसले गर्दा यहाँ यातायात सञ्चालन मात्र होइन यसले सृजना गर्ने समृद्धिका अरु आधार पनि खडा भएका छन्।