अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मध्यपहाडलाई समुन्नत बनाउन ‘समृद्धिका लागि संकल्प यात्रा’: महासचिव पोखरेल 

मध्यपहाडलाई समुन्नत बनाउन ‘समृद्धिका लागि संकल्प यात्रा’: महासचिव पोखरेल 


काठमाडौँ–नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा मध्यपहाडमा समृद्धि खोज्ने यात्रा भएको बताउनुभएको छ । 

बिहीबार बिहान बैतडीको झुलाघाटमा झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा शुभारम्भ कार्यक्रममा बोल्दै महासचिव पोखरेलले सोही अठोटका साथ एमालेले यात्रा प्रारम्भ गरेको बताउनुभयो । यात्राको क्रममा मध्यपहाडका जनतासँग संवाद गर्ने र एमालेले सुरु गरेको मध्यपहाडी लोकमार्गले ल्याएको परिवर्तन नियाल्ने पोखरेलले जानकारी दिनुभयो । भविष्यमा सो क्षेत्रको व्यावसायिक विकासको सम्भावनाको बारेमा अध्ययन गरी विकासको खाका बनाउने उहाँले प्रष्ट पार्नुभयो । 

पहाडा छाडेर मधेसमा बसाइँ सर्ने प्रवृत्तिलाई कसरी रोक्न सकिन्छ भन्ने कुरा सो क्रममा खोजिने पोखरेलले जानकारी दिनुभयो । पहाडमा नै बस्ने वातावरण बनाउन यात्रा प्रारम्भ गरिएको उहाँले प्रष्ट पार्नुभयो । ‘मध्यपहाडी क्षेत्रलाई आर्थिक, सामाजिक विकासका दृष्टिकोणले नेपालको समुन्नत क्षेत्रको रूपमा विकसित गर्ने अठोटका साथ हामी यो यात्रा आरम्भ गर्दै छौँ’, उहाँले भन्नुभयो । 

यात्राका क्रममा मध्यपहाडी पुष्पलाल लोकमार्गलाई अझै करी छोटो बनाउन सकिन्छ भन्ने सम्भावनाको पनि खोजी गरिने उहाँले बताउनुभयो । यात्राको क्रममा प्राविधिक टोलीले सो विषयमा समेत अध्ययन गर्ने उहाँले जानकारी दिनुभयो । 

यात्राका क्रममा जनताका बिचमा व्यापक संवाद गरिने उहाँले बताउनुभयो । ‘जनताका गुनासाहरू सुन्ने छौँ, भ्रम निवारण गर्ने छौँ’, उहाँले भन्नुभयो । 

नेपालमा ६ दशकभन्दा बढी राजनीतिक संघर्ष भएको बताउँदै पोखरेलले अब समृद्धिको यात्रामा अघि बढ्नु पर्ने बताउनुभयो । समृद्धिको यात्रा समृद्धि नेपाल सुखी नेपालीका परिकल्पनाकार केपी शर्मा ओलीको अगुवाइमा अघि बढ्ने उहाँले प्रष्ट पार्नुभयो । 

नेपालको मौलिक संस्कृतिलाई अहिले प्रहार गर्ने प्रयत्न भएको भन्दै पोखरेलले चिन्ता व्यक्त गर्नुभयो । नेपालको मौलिक संस्कृति नेपालको एकता, समृद्धि र गौरवपूर्ण इतिहासको आधार भएको उहाँले बताउनुभयो । 

मुलुकलाई विकसित र समृद्ध बनाउन जनताको जीवनस्तर उकास्न आवश्यक भएको उहाँले बताउनुभयो । विकास पहाडतिर उकाल लाग्ने, पहाडका मानिसहरू मधेस र सहर झर्ने कुरालाई कसरी रोक्न सकिन्छ भन्ने उपाय यात्राको क्रममा खोजिने उहाँले बताउनुभयो । यात्राको निष्कर्ष सहितको धारणा पुस ५ गते काठमाडौँमा कार्यक्रम आयोजना गरी सार्वजनिक गरिने पोखरेलले जानकारी दिनुभयो ।