अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ढुक्क हुनुस्, देश बनाउने जिम्मा एमालेले लिन्छ: अध्यक्ष ओली

ढुक्क हुनुस्, देश बनाउने जिम्मा एमालेले लिन्छ: अध्यक्ष ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले राष्ट्रिय विचारको प्रतिनिधित्व गर्ने पार्टी भएको बताउनु भएको छ।

बिहीबार बैतडीको गोठालापानीमा आयोजित झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प अभियान अन्तर्गतको वृहत् सभालाई सम्बोधन गर्दै ओलीले भारतीय सुरक्षाकर्मीले तुइन काटेर नेपाली नागरिकलाई महाकाली नदीमा खसाल्दा पनि गठबन्धन सरकार चुइँक्क समेत नबोलेको बताउनुभयो।

ओलीले भन्नुभयो, ‘आफ्नो नागरिक मर्दा, आफ्नो नागरिक मारिँदा, तुइन काटिँदा बोल्न सकेन, बोल्दैन, यसलाई तुइन विस्थापित गरेर झोलुङ्गे पुल बनाएकोमा पिर छ, बाटाघाटा बनाएकोमा पिर छ।’

आफू प्रधानमन्त्री बन्दा पुल, सडक रेल, भूकम्प पछिको पुनर्निर्माण लगायतका कयौँ काम गरेको उहाँले बताउनुभयो। एमालेलेले सरकार छाडेपछि देश ओरालो लागेको ओलीले बताउनुभयो। उहाँले भन्नुभयो, ‘राजनीतिक अराजकतातर्फ गयो, अर्थतन्त्र ओरालो लाग्यो।’

ओलीले अहिले देशको विकास ठप्प भएको बताउनुभयो । कर्मचारीलाई तलब खुवाउन समेत आन्तरिक ऋण उठाउनु पर्ने अवस्था आएको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । ‘देश झन् झन् अप्ठेरोमा पर्दै छ’, ओलीले भन्नुभयो ।
अहिले पहिचानको नाममा नेपाली जनतालाई विभाजन गर्न खोजिएको भन्दै उहाँले आलोचना गर्नुभयो । पहिचानको सवाल एमालेले सबैभन्दा बढी सम्बोधन गरेको उहाँले स्पष्ट पार्नुभयो । पहिचानको राजनीतिका नाममा अरूलाई घृणा, निषेध र आक्रमण गर्ने कुरा स्वीकार्य नभएको उहाँले बताउनुभयो । यो देशलाई अनेकतामा लगेर एकता हुन नदिने षडयन्त्र भएको ओलीले स्पष्ट पार्नुभयो ।

देशमा भ्रष्टाचार, अनियमितता, सुन तस्करी लगायतका घटना भएका ओलीले बताउनुभयो । अन्तर्राष्ट्रिय विमानस्थलबाट नै ३५ क्विन्टल सुन तस्करी भएको उहाँले सुनाउनुभयो । त्यसैले अहिले देशको अर्थतन्त्र ओरालो लागेको ओलीले बताउनुभयो ।

यही मौका छोपेर केही प्रतिक्रियावादीले टाउको उठाउने प्रयास गरेका ओलीले बताउनुभयो । यति बेला गणतन्त्र र लोकतन्त्रको विरोध गर्ने दुष्साहसी काम भइरहेको उहाँको भनाइ छ । ‘हामी पछाडि फर्कन सक्दैनौँ, फेरी रैति बन्न सक्दैनौँ’, ओलीले भन्नुभयो ।

देशको भूगोल, स्वाधीनता र सार्वभौमसत्ताको रक्षा एमालेले गर्ने उहाँले बताउनुभयो । देशको विकास गरेर एमालेले समृद्ध नेपाल बनाइ छाड्ने प्रतिबद्धता ओलीले व्यक्त गर्नुभयो । ‘यस देशमा एमाले छ’, ओलीले भन्नुभयो ।
नेकपा एमाले देश बनाउने स्पष्ट दृष्टिकोण बोकेको पार्टी भएको ओलीले बताउनुभयो । समृद्ध नेपाल सुखी नेपाली एमालेको प्रष्ट दृष्टिकोण भएको ओलीले स्पष्ट पार्नुभयो । ‘देश बनाउने जिम्मा एमालेले लिन्छ, यहाँहरू ढुक्क हुनुस्’, ओलीले भन्नुभयो ।

नेकपा एमालेले सुरु गरेको समृद्धिको अभियानमा सबैले सहयोग गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । उहाँले नयाँ उत्साह र जोस जाँगरका साथ काम गर्न पनि पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिनुभयो ।