काठमाडौं -समृद्धि संकल्प यात्राको पहिलो दिन नेकपा एसका जिल्ला इन्चार्ज र अध्यक्ष नै एमाले प्रवेश गराएपछि एमाले पंक्ती उत्साहित भएको छ । यात्राको सुरुवाती दिन नै बैतडी जिल्लबाट हिजो जिल्ला इन्चार्ज एवं केन्द्रीय सदस्य नरेन्द्र विष्ट र जिल्ला अध्यक्ष महादेव भट्ट सहित जिल्ला कमिटीका अधिकांस सदस्य एमाले प्रवेश गरेका छन् ।
पार्टीका प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार यात्राको क्रममा रहेका सबै जिल्लाहरुमा अन्य पार्टी त्यागेर एमाले प्रवेश गर्ने नेता कार्यकर्ताहरु तयारी अवस्थामा छन् । ‘हाम्रो सुरुवात नै सुखद् भएको छ । झुलाघाटको उद्घाटन भव्य भयो । गोठालपानीमा विशाल आमसभा भयो । एमाले छोडेर बाटो बिराएका नेता कार्यकर्ता एमाले मै फर्किए’ डडेलधुराबाट गौतमले भन्नुभयो ‘ विहानीले दिनको संकेत गर्छ भने जस्तै यो क्रम यात्रा अवधीभरी जारी रहन्छ ।’
बैतडीले भब्य सुरुवात गरेपछि अन्य जिल्लाका नेता कार्यकर्ता पनि दबाबमा छन् । बैतडीमा भन्दा बढी जनमानस कसरी जुटाउने,अन्य पार्टीबाट मानिसहरु कसरी प्रवेश गराउने भनेर उनीहरु थप छलफलमा जुटेका छन् । पहाडी जिल्लाहरुमा एमालेका अध्यक्ष केपी शर्मा ओली सहित सचिवालयका सबै नेता एकैपटक उपस्थित हुनु नै उपलब्धी ठान्छन् स्थानीय नेताहरु । ‘पार्टीले जिल्लामा कुनै विशेष कार्यक्रम गर्दा अध्यक्ष,महासचिव वा कुनै सिनियर नेता उपस्थित गराउन सकिएला’ बैतडीका संघीय साँसद दामोदर भण्डारी भन्नुहुन्छ ‘तर अहिले अध्यक्ष सहित सिंगो सचिवालय स्थायी कमिटीका नेताहरु एकै हाम्रो बिकट जिल्लामा हामीले पाउनु सुखद अवसर हो । उहाँहरुलाई भेट्ने,समस्या राख्ने,धन्यवाद दिने अथवा उहाँहरुका कुरा सुन्नका लागि मात्र पनि हजारौं मानिस भेला भइहाल्छन् नि ।’

गौतमका अनुसार काँग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुराको अमरगढीमा आज पनि सभा हुदैछ । यहाँ पनि अन्य पार्टी त्यागे केही नेता कार्यकर्ता एमालेमा प्रवेशको तयारी जिल्ला कमिटीले गरिरहेको छ । २०४८ सालदेखि यहाँबाट चुनाव जितेका,पाँचपटक प्रधानमन्त्री भएका शेरबहादुर देउवाको जिल्लाको विकासको हविगत देख्दा आफैं छक्क परेको गौतमले बताउनुभयो । ‘आजको सम्बोधनमा अध्यक्षज्यूले देउवालाई जिताएर डडेलधुराबासीले भोग्नु परेको भुक्तमानका विषयमा चर्चा गर्नुहुनेछ ।’
गौतमका अनुसार आज साँझ डोटीको दिपायलमा यात्रा टोली बास बस्नेछ ।
मध्यपहाडको विकास र समद्धिका लागि एमालेले मध्यपहाडी राजमार्गका २६ वटा जिल्लामा झुलाघाट –चिवाभञ्ज्याङ समृद्धिका संकल्प यात्रा गरेको हो । मंसिर ६ गतेको केन्द्रिीय कमिटीले यस सम्बन्धी सम्पूर्ण कार्ययोजना पास गरेको थियो ।
यही यात्रा मार्फत एमालेले मध्यपहाडमा आफ्नो बर्चश्वलाई थप बलियो बनाउने नीति लिएको छ । जसका लागि यस क्षेत्रमा भइरहेको तिव्र बाह्य बसाँइसराइ,पूर्वाधारको समस्या,कृषी र पर्यटनको प्रर्वद्धन र पहाडलाई विकासका नमुना कसरी बनाउने भनेर बहस गरिने जनाएको छ । मंसिर १४ गतेबाट सुरु भएको यो यात्रा मंसिर २ गते पाँचथरको चिवाभञ्ज्याङमा पुगेर सकिनेछ ।
प्रतिक्रिया