अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले मध्यपहाडी यात्रा : आज डेडेल्धुरा र डोटीमा सभा 

एमाले मध्यपहाडी यात्रा : आज डेडेल्धुरा र डोटीमा सभा 

भोलि अछाममा सभा हुने


काठमाडौँ–प्रमुख प्रतिपक्षी नेकपा एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियानअन्तर्गत आज डडेल्धुरा र डोटीमा सभा हुँदैछन् । अभियानको दोस्रो दिन एमालेले डडेल्धुराको बसपार्क र डोटीको सिलगढीमा सन्देश सभा हुने भएको हो ।  

डडेल्धुराको सन्देशसभा अगाडि जिल्लाको सबैभन्दा माथिल्लो भाग अमरगढी जाने एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिव रणबहादुर चन्दले जनाकारी दिनुभयो । आज बिहान १० बजे अमरगढी जाने, त्यसपछि बसपार्कमा सन्देशसभा गरेर डोटीको यात्रामा निस्कने उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार बाटोमा स्थानीय सर्वसाधारण, शिक्षक, विद्यार्थी, सरोकारवाला पक्षलगायतसँग छलफल अन्तरक्रिया हुनेछ । 

दिउँसो डोटीको सिलगढीमा सभाको आयोजना हुनेछ । त्यसपछि नेताहरु आज दिपायलमा बास बस्ने सचिव चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार भोलि बिहान अछाम जाने तय भएको छ । 

उहाँका अनुसार डोटी डडेल्धुराको मौसम पनि सफा रहेको छ । 

यस्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले ७० किलोमिटरको यात्रा हिँड्ने जानकारी दिनुभएको छ । 

सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष ओलीले डडेल्धुरादेखि डोटीसम्म ७० किलोमिटर दूरी हिँड्ने जानकारी दिनुभएको हो । उहाँले लेख्नुभएको छ, ‘आज यात्राको दोस्रो दिन अमरगढी, सकाली, गोपघाट, राजपुर चोक, दिपायल हुँदै ७० किलोमिटर दूरी पार गरेर सिलगढी पुग्ने छौँ । यात्रामा भेटौँ है !’ 

हिजो अध्यक्ष ओलीले बैतडीको झुलाघाटमा झन्डा फहराएर अभियानको उद्घाटन गर्नुभएको थियो ।  

एमालेले बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्मको यात्रा सुरु गरेको हो ।  

एमालेले एक हजार ८७९ किलोमिटर लामो लोकमार्गको यात्राका क्रममा जनताको गुनासो पनि सुन्ने भएको छ ।