अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अछाममा हत्या गरिएका विनोद शाहीका बुबा-आमाको पीडा: अझै मारकाट गर्ने धम्की आइरहेको छ

अछाममा हत्या गरिएका विनोद शाहीका बुबा-आमाको पीडा: अझै मारकाट गर्ने धम्की आइरहेको छ


अछाम-अछामको पञ्चदेवल विनायक नगरपालिका-४ का बलबहादुर साही अहिले उमेरले ६८ वर्ष हुनुभयो। उहाँकी पत्नी जलसरा साही पनि ६० नाघिसक्नु भयो। 

७० आसपासको उमेर, अब आराम गर्नु पर्ने, शान्तिसँग बस्नुपर्ने। तर उहाँहरूको मनमा अशान्तिको बादल मडारिएको छ, मनिभरि चोट र पीडा भएपछि कसरी शान्त रहनु। सधैँ डर, त्रास र धम्कीको बिचमा कसरी आनन्दले बाच्नु। 

एउटा हातको कुहिनोसम्मको भाट काटेर फालिएका बलबहादुर शारीरिक रूपले अपाङ्ग  हुनुहुन्छ। त्यो अपाङ्गताको त उहाँलाई त्यति धेरै पीडा पनि छैन, खासै असजिलो पनि भएको छैन। उहाँ एउटै हातले काम गर्न अभ्यस्त भइसक्नु भएको छ। तर उहाँको मनमा जुन चोट र पीडा छ त्यसले भने उहाँलाई निक्कै सताएको छ। बुढेसकालमा ठुलो पीडा दिएको छ। सामान्य हिसाबले चल्दै आएको उहाँको जीवनमा आँधीबेहरी ल्याइदिएको छ। 

अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का १५ वर्षीय अनेरास्ववियुका कार्यकर्ता विनोद शाहीलाई राजनीतिका विवादको विषयमा ०७९ जेठ १७ गते बेपत्ता बनाइयो । जेठ २१ गते मृत अवस्थामा उहाँका शव भेटियो। बलबहादुर र जलसरा तिनै विनोद शाहीका बुबा–आमा हुनुहुन्छ। बुढेसकालमा युवा बन्दै गरेको छोराको हत्या कसरी सहनु ! कति पीडा होला त्यो मनमा ! बलबहादुर र जलसरा बाहेक अरूलाई के थाहा !!!

सो घटनाका मुख्य योजनाकार सज्जनबहादुर शाही भएको भन्दै पीडित पक्षले प्रहरीमा किटानी जाहेरी दिएको थियो। प्रहरीले शक्तिको दबाबमा उहाँलाई धेरै पछि समात्यो । घटनामा संलग्न धेरै जना अझै पनि भागी रहेका र उनीहरूले मार्ने, काट्ने धम्की दिइरहेका बलबहादुरले बताउनुभयो। 

प्रहरीले पक्राउ गरी मुद्दा अघि बढाएका सज्जनबहादुर शाही पनि अदालतबाट धरौटीमा छुटेपछि आफूहरूलाई थप आतंकित बनाउने र पटक पटक आक्रमणको प्रयास गरेको भन्दै बलबहादुरले आफू र आफ्नो परिवार असुरक्षित भएको बताउनुभयो। 

थुनछेक बहसको क्रममा अदालतले सज्जनबहादुरलाई कमजोर स्वास्थ्य अवस्था र वृद्ध रहेकाले बाहिरबाटै तारेखमा रही पुर्पक्ष गर्न धरौटीमा रिहाइ गर्ने आदेश दिएको थियो। शाही पञ्चदेवल विनायक नगरपालिका–४ का निवर्तमान वडाध्यक्ष तथा नेपाली कांग्रेसका नगर सभापति र पूर्व शिक्षकसमेत हुनुहुन्छ। 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समृद्धिका लागि संकल्प यात्राको क्रममा पञ्चदेवल विनायक पुग्नुभएको बेला शाहीले आफ्नो पीडा पोख्नुभयो– ‘हामीलाई अझै पनि मार्ने, काट्ने धम्की आइरहेको छ, त्यो विनोदको न्याय होस्, हाम्रा महिला दिदी–बहिनी पनि असुरक्षित छन्, उहाँहरूको पनि सुरक्षा होस्, हामीलाई न्याय होस्, शान्ति सुरक्षाको साथ बस्न पाउँ ।’

शाहीले सो गाउँमा प्रहरी प्रशासनबाट भएको ज्यादतीको कथा पनि सुनाउनुभयो । ‘राति नौ बजेदेखि १२ बजेसम्म प्रहरी गाउँमा पसेर कुटपिट गर्दा चार जना गर्भवतीको गर्भ पतन भएको छ, यो मुद्दाको पनि सुनुवाइ भएको छैन’, उहाँले ओलीसँग गुनासो गर्नुभयो। 

आफू पीडाको बिचमा पनि आँसु समेत खसाउन नसक्ने अवस्था रहेको उहाँले बताउनुभयो । दोषीलाई सजाय नभएसम्म आफ्नो मनले शान्ति नपाउने उहाँले बताउनुभयो। ‘मेरो छोरा त अब फर्केर आउँदैन, तर हामीले पनि शान्तिले बाँच्न पाएनौँ, सरकारले न्याय दिएन, राजनीतिक दलकै यसमा मिलेमतो छ’, बलबहादुरले भन्नुभयो।