अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

दैलेखबाट अध्यक्ष ओलीले भन्नुभयो: राजतन्त्रको कुरा गर्नेहरू देशद्रोही र लोकतन्त्र विरोधी हुन्

दैलेखबाट अध्यक्ष ओलीले भन्नुभयो: राजतन्त्रको कुरा गर्नेहरू देशद्रोही र लोकतन्त्र विरोधी हुन्


दैलेख-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको व्यवस्था विरुद्ध वितृष्ण फैलाउन अनेक तत्त्वहरूले काम गरिरहेका बताउनुभएको छ। 

समृद्धिका लागि संकल्प यात्रा’ अन्तरगत कर्णाली प्रदेशको दैलेख राकममा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रक्रियावादीहरू गणतन्त्रलाई उल्टाउने कुरा गर्न लागेका बताउनुभयो। तर उनीहरूको यो कुचेष्टा सफल नहुने उहाँले दाबी गर्नुभयो।

ओलीले भन्नुभयो, ‘आज कोही प्रतिगमन तिर फर्कने कुरा गर्दै छ भने त्यो देशद्रोही हो, त्यो लोकतन्त्र विरोधी हो, त्यो जनतालाई गरिब राख्न खोज्ने कुरा हो।’

लोकतन्त्रको विरोधमा बोल्ने र त्यस बारे सोच्ने व्यक्ति नेपाल र नेपालीको हितको पक्षमा नरहेको उहाँले स्पष्ट पार्नुभयो। ‘त्यो नेपाल र नेपालीको हित विपरीतको कुरा हुन्छ’, ओलीले भन्नुभयो। 

नागरिकसँग भेटौँ र पार्टीका सन्देश जनताका बिचमा पुर्याउँ र नागरिकका कुरा सुन्न सकौँ भनेर एमालेले पूर्व पश्चिम मध्यपहाडी पुष्पलाल लोकमार्ग अभियान चलाएको ओलीले बताउनुभयो । विभिन्न प्रकारका भ्रम चिर्न र राष्ट्रिय एकता कायम गर्न अभियान सञ्चालन गरिएको उहाँले प्रष्ट पार्नुभयो। 

अहिले गठबन्धनले गरेको कामको कारण विकास रोकिएको बताउँदै ओलीले त्यसो भन्दैमा देश बनाउन नसकिने भन्ने कुरा नभएको बताउनुभयो। नेपाल जस्तो उर्वर देशलाई दुनियाँको आकर्षकको केन्द्र बनाउन सकिने उहाँले दाबी गर्नुभयो। 

एमालेलाई सरकारबाट हटाएको अढाई वर्षमा देशमा अराजकता र अस्थिरता पैदा भएको भन्दै ओलीले चिन्ता व्यक्त गर्नुभयो। अहिले देशको अर्थतन्त्र चौपट भएर देशमा गरिबी बढेको ओलीले बताउनुभयो। 

एमाले सकारमा छँदा युवा बिदेसिने क्रम घटेको, देशमा स्वरोजगारी बढेको, देश विकासले गति लिएको उहाँले स्मरण गराउनुभयो । ‘फेरी पनि एमाले चाहिन्छ देश विकासको लागि, देशलाई विकासको बाटोमा अघि बढाउनको लागि नेकपा एमालेको एकल बहुमतको सरकार चाहिन्छ’, ओलीले भन्नुभयो।