अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जनताको व्यापक समर्थन र सहभागिताले एमालेप्रतिको भरोसा प्रतिविम्बित गरेको छ: पृथ्वीसुब्बा गुरुङ

जनताको व्यापक समर्थन र सहभागिताले एमालेप्रतिको भरोसा प्रतिविम्बित गरेको छ: पृथ्वीसुब्बा गुरुङ


दैलेख-नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले सुदूरपश्चिम र कर्णालीमा एमालेको समृद्धिका लागि संकल्प अभियान सफल भएको बताउनुभएको छ।

सुदूरपश्चिमको यात्रा पूरा गरेर आइतबार कर्णाली छिरेको अभियानलाई दैलेखमा नागरिकहरूले भव्य स्वागत गरेपछि उपमहासचिव गुरुङले अभियान अद्भुत रूपमा सफल भएको प्रतिक्रिया जनाउनुभएको छ। ‘अपार जनसहभागिता र जनताको व्यापक समर्थनले एमालेप्रतिको भरोसा प्रतिविम्बित गरेको छ’, गुरुङले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ।

जनता एमालेले हिजोका दिनमा गरेको विकास निर्माणबाट प्रभावित भएको मात्रै नभई भविष्यका लागि पनि आशावादी र विश्वसनीय भएको पाइएको गुरुङको विश्लेषण छ। ‘जुन जनलहर यो दुई प्रदेशमा एमालेप्रति देखिएको छ, त्यसले देशमा व्याप्त निराशालाई चिर्दै अघि बढ्न थप प्रेरणा हाम्रो पार्टी र नेता, कार्यकर्ताहरूलाई पनि मिलेको छ’, उहाँले लेख्नु भएको छ।

एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानले गाउँगाउँमा फेरि एउटा राजनीतिक लहर सिर्जना गरेको उहाँको बुझाइ छ। यसका प्रमाण ठाउँठाउँमा जनताले स्वस्फूर्त बनाएका स्वागतद्वार, प्रदर्शन गरेका झाँकी र कार्यक्रमको सहभागिता भएको उहाँले उदाहरण पेस गर्नुभएको छ। एमाले अभियानले पार्टीमा मात्रै पुनर्ताजगी पैदा नगरी समग्र जनतामा ओइलाएको राजनीतिप्रति दृष्टिमा सकारात्मक ऊर्जा दिएको गुरुङको विश्लेषण छ।

विकट र पिछडिएको भनिएको सुदूरपश्चिम साँच्चीकै प्राकृतिक रूपमा सुन्दर सुदूरपश्चिम देखिएको र भेटिएको उहाँले उल्लेख गर्नुभएको छ । त्यहाँ बिस्तारै वामे सरेको विकास निर्माणलाई एमाले सरकारमा पुगेका बखत रफ्तारमा अघि बढाउने उहाँले विश्वास दिलाउनुभएको छ। ‘हामी अभियानमै छौँ, देश बनाउने संकल्पसहित अघि बढिरहेका छौँ’, उहाँले लेख्नु भएको छ।
एमालेले बैतडीको झुलाघाटबाट मङ्सिर १४ गते समृद्धिको लागि संकल्प यात्रा सुरु गरेको छ।

मध्यपहाडी पुष्पलाल लोकमार्गलाई आधार बनाएर सुरु भएको सो यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुगेर टुङ्गिने छ । यो यात्रालाई एमालेले मध्यपहाडको वस्तुस्थिति बुझ्ने र विकासको आधार खोज्ने यात्राको रूपमा परिभाषित गरेको छ।