अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रामेछाप एमालेले ‘समृद्धिका लागि संकल्प यात्रा’ तयारीका निम्ति बैठक बोलायो

रामेछाप एमालेले ‘समृद्धिका लागि संकल्प यात्रा’ तयारीका निम्ति बैठक बोलायो


रामेछाप-नेकपा एमालेले सुरु गरेको ‘झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’को तयारीका लागि नेकपा एमाले रामेछापले बैठक बोलाएको छ। 

रामेछाप जिल्ला अभियानलाई सफल बनाउन आवश्यक तयारीको लागि छलफलका लागि बैठक बोलाइएको नेकपा एमाले रामेछापका सचिव पुरुषोत्तम कँडरियाले जानकारी दिनुभयो। तयारी बैठक मङ्सिर १९ गते बिहान १० बजे मन्थलीको तीनलाल पार्कको हलमा डाकिएको कँडरियाले बताउनुभयो। 

बैठकमा जिल्ला कमिटी, निर्वाचित जनप्रतिनिधि र जनसंगठनका अध्यक्षलाई अनिवार्य उपस्थित हुन भनिएको छ। सो बैठकले अभियानको तयारी र व्यवस्थापनको योजना बनाउने छ। 

अभियानको टोली मङ्सिर २५ गते धुलिखेलबाट दोलखा हुँदै मन्थली आइपुग्ने कार्यतालिका रहेको छ। २५ गते अपराह्न मन्थलीको तीनलाल पार्कमा कार्यक्रम राखिने भएको छ। २५ गते बेलुका टोली मन्थलीमा नै बास बस्ने छ। मन्थलीबाट सिन्धुलीको खुर्कोट, घुर्मी हुँदै अभियान खोटाङ तर्फ अघि बढ्ने छ। 

रामेछाप सहिद गंगालाल र कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको जन्मथलो पनि हाे। त्यसैले कम्युनिष्टहरुले रामेछापलाई महत्त्वको साथ हेर्ने गर्दछन्। 

एमालेले सुरु गरेको मध्यपहाडी पुष्पलाल लोकमार्ग केन्द्रित मध्यपहाडको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुगेर सम्पन्न हुँदै छ। सो यात्रामा मध्यपहाडको समृद्धिको सम्भावना खोजी गरिने नेकपा एमालेले जनाएको छ।