अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा एमालेको मध्यपहाडी यात्राको पाँचौ दिन : आज दैलेख र सुर्खेतमा विविध कार्यक्रम

नेकपा एमालेको मध्यपहाडी यात्राको पाँचौ दिन : आज दैलेख र सुर्खेतमा विविध कार्यक्रम


सुर्खेत- नेकपा एमालेको जारी समृद्धिका लागि संकल्प यात्राको पाँचौ दिन आज दैलेख र सुर्खेतमा विविध कार्यक्रम गर्ने तयारी छ ।
पार्टीका प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार आजको यात्रा दैलेखबाट सुर्खेतको वीरेन्द्रनगरसम्म हुनेछ । आजको यात्रा ७१ किलोमिटर मात्र रहेको छ । हिजो अछामको मंगलसेन देखि दैलेख बजारसम्म १सय ५४ किलोमिटरको यात्रा तय गरिएको थियो ।
आज विहान दैलेख बजारमा स्थानीय नेता,कार्यकर्ता तथा एमालेका शुभेच्छुकहरुसँग सामुहिक भेटघाट रहेको छ । आज दैलेखमा पेट्रोलियम पदार्थको उत्खनन् स्थलको अवलोकन,नाभिस्थान र शिरस्थानको अवलोकन तथा स्थानीयबासीन्दासँग छलफलको कार्यक्रम रहेको छ । चुप्रा डुंगेश्वर र माथिल्लो डुंगेश्वरमा पनि जनतासँग भेटघाट कार्यक्रम राखिएको गौतमले जानकारी दिनुभयो ।
यसैगरी अध्यक्ष केपी शर्मा ओलीले दैलेखकै गुराँस गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्ने र सोही स्थानमा यात्रा टोलीले खाना खाने कार्यक्रम छ । त्यसपछि टोली सुर्खेत प्रवेश गर्नेछ । सुर्खेतको वीरेन्द्रनगरबाट करिब २० किलोमिटर उत्तरी क्षेत्रबाट सुर्खेतले यात्रा टोलीलाई स्वागत गर्ने कार्यक्रम रहेको छ । वीरेन्द्रनगरमा दिउसो ३ बजे आमसभालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने र प्रशिद्ध पर्यटकीय स्थल काँक्रेबिहारको अवलोकन गर्ने कार्यक्रम तय गरिएको केन्द्रीय सदस्य एवं वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले जानकारी दिनुभयो । काँक्रेबिहारमा थारु संस्कृतिको प्रदर्शन गर्ने पनि तयारी छ ।
ढकालका अनुसार सुर्खेतमा अध्यक्ष ओलीले उद्योगी,व्यापारी,बुद्धिजीवीहरुसँग सुर्खेतका समस्या र सम्भावनाका बारेमा छलफल गर्ने कार्यक्रम छ । साँझ ६.३० देखि ७.३० सम्मको एक घण्टा भेटघाटको समय तय गरिएको छ । त्यसपछि वीरेन्द्रनगरका प्रमुख,उपप्रमुख सहित कार्यपालिकाका सदस्यहरुसँग भेटघाट तथा छलफलको कार्यक्रम राखिएको छ ।