अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दीर्घकालीन लक्ष्य प्राप्त गर्न दैलेखमा पेट्रोलियम अन्वेषणको विकल्प छैन : अध्यक्ष ओली 

दीर्घकालीन लक्ष्य प्राप्त गर्न दैलेखमा पेट्रोलियम अन्वेषणको विकल्प छैन : अध्यक्ष ओली 


दैलेख–नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपालको दीर्घकालीन लक्ष्य प्राप्त गर्न दैलेखमा भएको पेट्रोलियम अन्वेषणको विकल्प नभएको बताउनु भएको छ । 

एमालेले सञ्चालन गरेको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ अभियानका क्रममा कर्णाली प्रदेशको दैलेख पुग्नुभएका अध्यक्ष ओलीले दैलेखमा भएको पेट्रोलियम पदार्थको उत्खनन गर्नुपर्नेमा जोड दिनुभयो । 

बिहान दैलेखको भैरवी गाउँपालिका–१ स्थित पेट्रोलियम अन्वेषण स्थलको स्थलगत अवलोकनका क्रममा पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष ओलीले पेट्रोलियम अन्वेषणको काम आफ्नै पालामा भएको उल्लेख गर्दै  त्यसको कामलाई थप अघि बढाउनु पर्ने बताउनु भयो ।

‘दैलेख पुरातात्त्विक महत्वको जिल्ला मात्रै होइन, पेट्रोलियम पदार्थको राम्रो सम्भावना भएको जिल्ला पनि हो’, अध्यक्ष ओलीले थप्नुभयो, ‘हाम्रै (एमाले नेतृत्वको सरकारको) पालामा यसको थप खोज, अध्ययन र अनुसन्धानको काम अघि बढाउनु पर्छ भनेर अन्वेषणको कामका लागि टोली खटाएका थियौँ ।’

अन्वेषणको कामका लागि खटाइएको चिनियाँ टोलीको निचोडका बारेमा अन्वेषण विभागको टोलीसँगको ब्रिफिङ पछि अध्यक्ष ओलीले देशलाई समृद्धिको मार्गमा ल्याउन पेट्रोलियम पदार्थको उत्खननले ठुलो भूमिका खेल्ने बताउनु भयो । 

दैलेखको जलजलेमा भएको पेट्रोलियम अन्वेषण स्थलमा एमाले अध्यक्ष ओली नेतृत्वको हाइैकमाण्डलाई जानकारी दिँदै खानी तथा भूगर्व विभागका अन्वेषण परियोजना प्रमुख दिने कुमार नापीतले चिनियाँ अन्वेषण टोलीले पेट्रोलियम पदार्थको राम्रो सम्भावना भएको निचोड निकालेको बताउनुभयो ।

उत्खनन गर्दा पहिलो तेल ३५ सयदेखि ४ हजार मिटरसम्म देखिएको छ । उत्खनन टोलीको प्रतिवेदनका अनुसार उत्खननको काम गर्दा दोस्रो तहमा ग्याँसका रेखाहरु देखिएको नापितले बताउनुभयो ।

‘चिनियाँ कम्पनी गरेको शेष्मिक सर्भेले ३५ सयदेखि ४ हजार मिटरसमको उत्खनन गर्दा पेट्रोलियम पदार्थको राम्रो सम्भावना देखियो’ नापितले भन्नुभयो, ‘हामीले ४५ सय मिटरसम्मको उत्खनन गर्दा ग्याँस र पेट्रोलियम पदार्थको सम्भावना यहाँ (दैलेख) निकै राम्रो देखियो ।’

पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेलसहितका केन्द्रीय नेताहरुसँगै उत्खनन स्थलमा पुग्नु भएका अध्यक्ष ओलीलाई परियोजना प्रमुख नापितले अध्ययन प्रतिवेदन हस्तान्तरण गर्नु भएको छ । 

देशकै आर्थिक अवस्था सुधार हुने आशा गरिएको पेट्रोलियम उत्खननको अन्तिम अन्वेषणको कामका लागि एमाले अध्यक्ष ओलीको पालामा उत्खनन स्थलमा आवश्यक पर्ने ४५ रोपनी अधिकरण गर्ने काम र अन्वेषणको काम सुरु भएको थियो । 

दैलेख जिल्लाको भूभागमा पेट्रोल र ग्याँसको भण्डारण भएको भन्दै २०७६ असोजदेखि अन्वेषणको काम सुरु गरिएको थियो । नेपाल सरकार र चीन सरकारबिच भएको सम्झौता अनुसार दैलेखमा सिस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे र जिओ केमिकल स्याम्पलिङ सर्भे सम्पन्न गरिएको थियो । 

सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय भन्ने उद्घोषका साथ सुरु भएको एमालेको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ अभियानको पाँचौ दिन आज अध्यक्ष ओलीले दशकौँदेखि ज्वाला बलिरहेको दैलेखको शिरिस्थना मन्दिरको अवलोकन र दर्शन गर्नु भएको छ ।