अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वर्तमान सरकार भ्रष्टाचारमा लिप्त भयो: अध्यक्ष ओली

वर्तमान सरकार भ्रष्टाचारमा लिप्त भयो: अध्यक्ष ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार भ्रष्टचारमा लिप्त भएको आरोप लगाउनु भएको छ।

एमालेले सञ्चालन गरेको ‘झुलाघाट-चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ अभियानअन्तर्गत कर्णालीको सुर्खेतमा सोमबार आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जनतालाई भ्रममा पार्न अनेक प्रयत्न गरिरहेको बताउनुभयो। यस अवस्थालाई चिर्नु पर्नेमा ओलीले जोड दिनुभयो।

अहिले गठबन्धन सरकार भ्रष्टाचारमा लिप्त भएको ओलीले बताउनुभयो। अहिले क्विन्टलका क्विन्टल सुन एयरपोर्टको भन्सारबाट छिरेर आउने गरेको उहाँले सुनाउनुभयो। ‘यस्तो अवस्था इतिहासमै कहिल्यै थिएन, अहिले गठबन्धन सरकारबाट यस्तो अवस्था भएको छ’, ओलीले भन्नुभयो ।

नेकपा एमालेले साढे तीन वर्ष सरकार चलाउँदा जनतामा आत्मविश्वास बढाउने काम गरेको ओलीले बताउनुभयो। ओलीले भन्नुभयो, ‘सरकार प्रति भरोसा बढाएको थियो, विकासको लहर चलाएको थियो, देशमा सुशासन कायम गरेको थियो, समृद्धिको यात्रा अगाडि बढाएको थियो।’

देशमा सामाजिक अराजकता बढेको र सांस्कृतिक अधोपतन भइरहेको ओलीले बताउनुभयो । तथापि गठबन्धनमा रहेको पार्टीहरू यस प्रति गम्भीर नभएका भन्दै उहाँले आलोचना गर्नुभयो। यो अवस्था एमालेको लागि मात्र होइन सबैलाई चिन्ताको विषय हुनुपर्नेमा ओलीले जोड दिनुभयो।

आर्थिक वर्षको पहिलो चार महिनामा नै सरकारले कर्मचारीलाई तलब खुवाउन जनतासँग ऋण लिनुपरेको ओलीले बताउनुभयो। ‘नेपालको इतिहासमै यस्तो दुरावस्था कहिल्यै पनि भएको थिएन, देशको बचत ध्वस्त भएको, जनतामा गरिबी बढेको छ, जनतामा नैराश्यता छाएको छ, असन्तुष्टि बढेको छ, युवाहरू निराश र पलायन भइरहेका छन्, यस्तो अवस्थालाई रोक्नु पर्छ’, उहाँले भन्नुभयो ।

अध्यक्ष ओलीले देशको राजनीति बिग्रिँदै गएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । देशको राजनीति अन्योल र अराजकताबाट गुज्रिरहेको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, ‘कानुको राज होइन, भ्रष्टहरूको राज र मनपरीतन्त्र चलिरहेको छ।’

सरकारले राष्ट्र हित, स्वाभिमान र स्वाधीनताको रक्षा गर्न नसकेको ओलीले बताउनुभयो। राष्ट्र हितमा सरकार अड्न नसकेको भन्दै उहाँले आलोचना गर्नुभयो।