अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

 एमालेको सङ्कल्प यात्रा आठौँ दिनमा कास्की पुग्ने

 एमालेको सङ्कल्प यात्रा आठौँ दिनमा कास्की पुग्ने


गण्डकी–नेकपा (एमाले)को मध्य पहाडी पुष्पलाल लोकमार्ग केन्द्रित ‘झुलाघाट–चिवाभञ्ज्याङ : समृद्धिका लागि सङ्कल्प यात्रा’को टोली भोलि कास्की आइपुग्ने भएको छ । 

यही मङ्सिर १४ गते बैतडीको झुलाघाटबाट सुरु भएको उक्त सङ्कल्प यात्राअन्तर्गत कास्कीमा दुई दिनसम्म विविध कार्यक्रम तय गरिएको जानकारी दिइएको हो । 

एमाले जिल्ला कमिटी कास्कीका अध्यक्ष मनबहादुर गुरुङका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितको सङ्कल्प यात्राको टोलीलाई भोलि दिउँसो कास्की र पर्वतको सीमास्थल नयाँपुलमा स्वागत गरिने भएको छ । सोही दिन कास्कीको अन्नपूर्ण गाउँपालिकाको नागडाँडामा स्वागत, पोखरा महानगरपालिकाको हेम्जामा स्वागत तथा भेटघाट कार्यक्रम राखिएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । 

शुक्रबार बिहान पोखराको अमरसिंहचोक, तालचोक र रुपा गाउँपालिकाको तालबेँसीमा स्वागत कार्यक्रम हुने उहाँले बताउनुभयो । सोही दिन उक्त टोली रुपा गाउँपालिकाको पिपले बजार हुँदै लमजुङ प्रस्थान गर्ने जनाइएको छ । “हेम्जा र तालचोकमा भेटघाटसहित पार्टी अध्यक्षले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ”, गुरुङले भन्नुभयो, “स्थानीयवासीसँग विकास निर्माण र जनजीविकाका विषयमा अध्यक्षज्यूले अन्तक्र्रिया गर्नुहुनेछ ।”

सङ्कल्प यात्रामा सहभागी टोलीलाई एमाले स्थायी कमिटी सदस्य एवं कास्की जल्ला इञ्चार्ज थममाया थापासहित नेता, कार्यकर्ताले कास्कीमा स्वागत गर्ने एमालेले जनाएको छ । 

पत्रकार भेटघाटका क्रममा एमाले स्थायी कमिटी सदस्य थापाले गणतन्त्र, नेपालको संविधान र राजनीतिक उपलब्धिको रक्षार्थ समाजमा सकारात्मक सन्देश प्रवाह गर्न सङ्कल्प यात्रा सुरु गरिएको बताउनुभयो । सङ्कल्प यात्राका क्रममा नागरिकका अनुभूति, सुझाव र गुनासा सङ्कलन गरिएको उहाँले बताउनुभयो ।