अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वर्तमान सरकारले छिमेकी मुलुकसँग ठाडो शिर गरेर कुरा गर्न सक्दैन: अध्यक्ष ओली

वर्तमान सरकारले छिमेकी मुलुकसँग ठाडो शिर गरेर कुरा गर्न सक्दैन: अध्यक्ष ओली


काठमाडौँ-नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले छिमेकी मुलुक भारत र चीनसँग ठाडो शिर गरेर कुरा गर्नै नसक्ने बताउनु भएको छ।

झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राका क्रममा बुधबार रुकुम पुग्नुभएका ओलीले रुकुमकोटमा आयोजित जनतासँग सार्वजनिक भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै साे कुरा बताउनु भएको हाे ।

राष्ट्रिय हितको रक्षा, स्वाधीनता र स्वतन्त्रताको उपयोग गर्ने कुरामा सरकारले छिमेकी मुलुकहरुसँग कुरै गर्न नसक्ने अध्यक्ष ओलीको जिकिर थियो।

‘अहिले राष्ट्रको सार्वभौमसत्ता, स्वाधिनता निहुरिएको अवस्था छ। र, नेपाल सरकारले हाम्रा छिमेकीहरूसँग ठाडो शिर गरेर कुरा पनि गर्न सक्दैन। यस्तो अवस्थामा हामी नेपाली छौं। राष्ट्रिय हितको रक्षा हुने कुरा, स्वाधिनताको प्रयोग हुने कुरा, त्यसको रक्षा हुने कुरा, हाम्रो स्वतन्त्रताको प्रयोग गर्ने कुरा र हाम्रो ऐतिहासिक गौरवमा, उपलब्धिहरूमा, हाम्रो स्वाधिनतामा गर्व गर्ने कुरा यो कुरा समाप्त भएको छ,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘जसलाई फेरि उठाउनु पर्नेछ। भ्रष्टाचारलाई अन्त्य गर्नुछ। अपराधीहरूलाई प्रोत्साहित गर्ने, समात्न नमान्ने, समातीहाल्यो भने पनि पहिलो मुद्दा नै लगाउन सरकार मान्दैन। समाती हाल्यो भने माफी मिनाहा गर्छ। मुद्दा खारेज गर्छ। अदालतले फेरि हस्तक्षेप गरेर मुद्दा लगाउनुपर्ने स्थिति भएको छ।’

अपराधीहरुलाई प्रोत्साहित गर्ने, समात्न नमान्ने, समातीहाल्यो भने पनि माफी दिने काम सरकारले गरिरहेको अध्यक्ष ओलीको भनाई थियो ।

‘प्रहरी प्रशासन, कर्मचारीतन्त्रले ठिक ढंगले काम गर्न पाएको छैन। हस्तक्षेपमाथि हस्तक्षेप छ। यस्तो खालको अवस्था छ। कर्मचारीतन्त्रलाई दुरुपयोग गरिएको छ। अहिले देशको अवस्था अत्यन्तै नाजुक छ,’ उहाँले भन्नुभयो, ‘यस नाजुक अवस्थालाई कसरी रोक्ने र सकारात्मक बाटोमा फर्काउने। आज देशको राजनीति अन्यौलग्रस्त छ। देशको राजनीतिक निराशायुक्त छ। देशको राजनीति अस्थिर र अराजक बनेको छ। देशको राजनीतिप्रति जनविश्वास अत्यन्तै घटेको छ। त्यसै गरेर अर्थतन्त्र अत्यन्तै अप्ठ्यारो, असहज र बिग्रेको अवस्थामा छ। र, बिग्रँदो छ।’

अध्यक्ष ओलीले मुलुकको अर्थतन्त्र अत्यन्तै अप्ठ्यारो, असहज र बिग्रेको अवस्थामा रहेको उल्लेख गर्दै त्यसमा सुधार गरेर लैजाने काम एमालेले मात्रै गर्नसक्ने बताउनु भयो ।