अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काम गरेर देखाउने पार्टी एमाले मात्र हो: गोकुल बास्कोटा

काम गरेर देखाउने पार्टी एमाले मात्र हो: गोकुल बास्कोटा


काभ्रे-नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले नेकपा एमाले काम गरेर देखाउने पार्टी भएको बताउनुभएको छ।

झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा अन्तर्गत आइतबार काभ्रेको कुन्ताबेँसीमा आयोजित कार्यक्रममा बोल्दै बास्कोटाले नेकपा एमाले कुरा सोच्ने तर कुरा चपाएर बस्ने नभएर काम गरेर देखाउने पार्टी भएको दाबी गर्नुभयो। नेकपा एमाले सरकारमा हुँदा सुरु भएका केही काम पूरा भएका भए पनि धेरै काम गर्न बाँकी रहेको बास्कोटाले बताउनुभयो।

नेता बास्कोटाले पार्टी अध्यक्ष केपी शर्मा ओली नेपालको नक्सा बदल्न सक्ने नेता भएको बताउनुभयो। देशको नक्सा बदल्न सक्ने नेताले देशको स्वरूप बदल्न सक्ने उहाँले दाबी गर्नुभयो । ‘देश बनाउन एमाले चाहिन्छ, एमाले एमालेका निम्ति होइन, देशका निम्ति चाहिन्छ’, बास्कोटाले भन्नुभयो ।

नेता बास्कोटाले देश र जनताको बारेमा एमाले बाहेक सोच्न सक्ने अन्य कुनै पार्टी नभएको बताउनुभयो । त्यसैले हिजो अलमलिएका व्यक्तिलाई पनि एमालेमा आउन र देश निर्माणको अभियानमा लाग्न उहाँले आग्रह गर्नुभयो ।

मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली सहित समृद्धिको लागि संकल्प यात्रामा हुनुहुन्छ। बैतडीको झुलाघाटमबाट मङ्सिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको छ।