अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापामा दूध खरिद घट्यो, डीडीसीले दिएन किसानको ३ करोड ८१ लाख भुक्तानी

झापामा दूध खरिद घट्यो, डीडीसीले दिएन किसानको ३ करोड ८१ लाख भुक्तानी


काठमाडौँ–गत साउन महिनादेखि दूधको भुक्तानी रोकेको दुग्ध विकास संस्था (डीडीसी)ले झापाका किसानलाई कोटा निर्धारण गरेको छ । 

गत हप्तासम्म दैनिक ५–६ हजार लिटर दूध खरिद गर्दै आएको संस्थानले अब दैनिक २ हजार लिटर दूध मात्रै खरिद गर्ने भएको हो ।  

झापाका निजी डेरीहरुले खरिद गर्दासमेत किसानले दूधको बजार पाउन नसकेका बेला दुग्ध संस्थानले समेत कोटा निर्धारण गरेपछि  थप समस्या भएको छ । ठुला डेरी र दुग्ध विकास संस्थाले दूध खरिद गर्दा पनि सयौँ लिटर दूधले बजार नपाउने समस्या भएको किसानहरु बताउँछन् ।

संस्थानका झापा इन्चार्ज ओमकार खरेलले कोटा निर्धारण भएपछि किसान थप मारमा परेको बताउनुभयो । उहाँले भुक्तानी गर्न नसकेपछि दूध खरिदमा कोटा तोकिएको जानकारी दिनुभयो ।

झापा, कचनकवल, बाहुँनडाँगी, हम्सेदुम्से दमकबाट दुग्ध विकास संस्थानले दूध संकलन गर्दै आएको छ । खरेलले जिल्लामा सिजनमा ८० हजार लिटर दूध उत्पादन हुने गरेको जानकारी दिनुभयो । 

दुग्ध विकास संस्थान विराटनगरका आयोजना प्रमुख परमेश्वर चौधरीले व्यापारमा कठिनाइ भएकै कारण किसानको भुक्तानीमा समस्या आएको बताउनुभयो । उहाँले किसानको भुक्तानीका लागि मन्त्रीस्तरीय बैठक समेत बसिसकेको जानकारी दिनुभयो ।  

१५–१५ दिनमा भुक्तानी पाउँदै आएका झापाका किसानले पाँच महिनादेखि दूधको पैसा पाएका छैनन् । दुग्ध विकास संस्था विराटनगरका लेखा शाखा प्रमुख मोहन खत्रीले झापाका किसानले साउनयता ३ करोड ८१ लाख रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको जानकारी दिनुभयो । कोशी प्रदेशका किसानले २१ करोड भुक्तानी पाउन बाँकी रहेको खत्रीको भनाई छ ।

झापाबाट मासिक १ लाख ६० हजार लिटर दूध खरिद गर्ने गरेको थियो । त्यसबापत किसानले मासिक १ करोड ८ लाख आम्दानी गर्दै आएका थिए ।