अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गठबन्धन सरकार कसैले ढाल्नु पर्दैन, आफैं ढल्छ: अध्यक्ष ओली

गठबन्धन सरकार कसैले ढाल्नु पर्दैन, आफैं ढल्छ: अध्यक्ष ओली


चरिकोट-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारलाई कसैले ढाल्नु पर्दैन आफैं ढल्ने बताउनु भएको छ।

झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्प यात्राको क्रममा सोमबार साँझ दोलखाको चरिकोटमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले साे कुरा बताउनु भएको हाे।

ओलीले नेकपा एमालेको लक्ष सरकारमा गइहाल्ने नभएको भए पनि वर्तमान सरकार आफ्नै कारणले ढल्ने अवस्थामा पुगेको ओलीले बताउनुभयो। उहाँले भन्नुभयो, ‘यो गठबन्धन सरकार कसैले ढाल्नु पर्दैन, आफैँ ढल्ने स्थितिमा पुगेको छ। यो सरकार कुनै समय आफैँ ढल्न सक्छ। यो कुनै खुट्टा भएको सरकार नै होइन। यो त गठबन्धनका छेस्का टिकाएर अडेको सरकार हो । यसका कुनै सिद्धान्त छैन, नीति छैन।’

गौरीशंकरको काखमा रहेको कालिञ्चोक भगवती र दोलखा भीमसेनको आसिरवाद प्राप्त दोलखा धार्मिक र प्राकृतिक हिसाबले भरपुर रहेको ओलीले बताउनुभयो।

एमालेको यात्राको क्रममा बालबालिका सहभागितालाई लिएर बालबालिकाको प्रयोग गरिएको भनि गरिएको प्रचारको ओलीले कार्यक्रममा आलोचना गर्नुभयो । एमालेले सुरु गरेको यो अभियान राष्ट्रिय उत्सवको अभियान भएको कारण त्यसमा बालबालिकाले सहभागिता जनाउनु स्वाभाविक भएको ओलीले बताउनुभयो । नेकपा एमाले एउटा राष्ट्रिय लक्ष लिएर अघि बढेकोले त्यसमा बालकदेखि वृद्धसम्मको सहभागिता रहेको ओलीले प्रष्ट पार्नुभयो ।

ओलीले आज युवालाई देशमा अड्याउनै नसक्ने अवस्थामा रहेको बताउनुभयो । अर्काको दरबार देखेर धनी नहुने बताउँदै ओलीले युवालाई देशमा नै राखेर आफ्नो घर राम्रो बनाउने वातावरण बनाउनु पर्ने बताउनुभयो । विभिन्न व्यवसाय स सञ्चालन गरेर युवाहरू देश निर्माणको अभियानमा लाग्नु पर्नेमा उहाँले जोड दिनुभयो ।

राजनीतिक पार्टीले अब विकास र सामाजिक सुधारको अभियन्ताको रूपमा काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । ‘सामाजिक सुधारका अभियान हामीले नै चलाउने हो, अरूले चलाउने होइन’, ओलीले भन्नुभयो ।

जनताको अभिमतबाट एमालेले सरकार बनाएको र देशका विकासको अभियान चलाएको अवस्थामा विदेशीका सामु लम्पसार परी उनीहरूको कम्फरटेबल बनिदिन्छौँ भनेर एमालेको सरकार हटाउने काम गरिएको ओलीले बताउनुभयो । एकीकृत भइसकेको पार्टी पटक पटक फुटाउने काम गरिएको ओलीले टिप्पणी गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी अदालतले नभई विखण्डनकारीले फुटाउने काम गरेका ओलीले बताउनुभयो । त्यसैले विखण्डनकारीको पक्षमा नलाग्न ओलीले आग्रह गर्नुभयो । ‘एमाले बाहेक वामपन्थी पार्टीमा कुनै कायकर्ता हुनुहुन्छ भने त्यो गलत बाटोमा नहिँड्नुस्, झिँगाको पछि किन लाग्ने फोहोरको डङ्गुरमा जान’, उहाँले भन्नुभयो ।

ओलीले अहिले देश गम्भीर अवस्थामा पुगेको बताउनुभयो । त्यसबाट देशलाई फर्काउनु पर्ने र त्यसकै लागि लागि समृद्धिका लागि संकल्प अभियान चलाएको उहाँले प्रष्ट पार्नुभयो । ‘देश अप्ठेरो स्थितिमा छ, गम्भीर रोग लागि सकेको छ देशमा’, ओलीले भन्नुभयो ।

ओलीले प्रचण्ड र शेरबहादुर देउवाकै कारण शान्ति प्रक्रिया नटुङ्गिएको बताउनुभयो । एमाले पीडितको न्यायको पक्षमा शान्ति प्रक्रिया टुङ्ग्याउनु पर्छ भन्ने पक्षमा रहेको उहाँले बताउनुभयो । ‘प्रचण्डजी र शेरबहादुरले शान्ति प्रक्रिया टुङ्गाउन दिनुभएन’, ओलीले भन्नुभयो ।

मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली सहित समृद्धिको लागि संकल्प यात्रामा हुनुहुन्छ। बैतडीको झुलाघाटमबाट मङ्सिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको छ।