काठमाडौँ–एसीसी (यु–१९) एशिया कप क्रिकेटमा समूह चरणको अन्तिम खेलमा आज नेपाल भारतसँग भिड्दै छ । एशिया कपको सेमिफाइनलमा पुग्ने टिमहरुको टुंगो लागि नसकेकाले आजको खेल निकै महत्त्वपूर्ण छ । खेल बिहान पौने ११ बजे दुबईमा हुनेछ ।
गणितीय हिसाबले समूहका चारै टिम सेमिफाइनल पुग्ने सम्भावना छ । तर, नेपालका लागि भारत निकै कठिन प्रतिद्वन्द्वी हो । उसले पहिलो खेलमा अफगानिस्तानलाई हराए पनि दोस्रो खेलमा पाकिस्तानसँग पराजित भएको थियो । नेपाल भने आफ्ना सुरुआतका दुवै खेल हारेको छ ।
पहिलो खेलमा पाकिस्तानसँग सात विकेटले पराजित नेपाल दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनले पराजित भएको थियो । आज नै हुने अर्को खेलमा पाकिस्तानले अफगानिस्तानको सामना गर्नेछ । पाकिस्तानले ठूलो अन्तरले अफगानिस्तानलाई हराएमा र नेपालले पनि ठूलो अन्तरले भारतलाई हराउन सके मात्र नेपाल सेमिफाइनलमा पुग्न सक्नेछ । त्यसैले नेपाल आज जित दर्ता गर्ने लक्ष्यमा हुनेछ ।
प्रतिक्रिया