अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मध्यपहाडी लोकमार्गलाई समृद्ध नेपालको मेरुदण्ड बनाउन सकिन्छ : विष्णु पौडेल

मध्यपहाडी लोकमार्गलाई समृद्ध नेपालको मेरुदण्ड बनाउन सकिन्छ : विष्णु पौडेल


काठमाडौँ–नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले मध्यपहाडी लोकमार्गलाई नेपालको मेरुदण्ड बनाउन सकिने बताउनुभएको छ ।  

बैतडीको झुलाघाटबाट सुरु भएको अभियान भोजपुर पुगेपछि पत्रकारसँग कुरा गर्दै पौडेलले मध्यपहाडी पुष्पलाल राजमार्ग नेपालको समृद्धिका लागि महत्त्वपूर्ण आयोजना भएको बताउनुभयो । सो राजमार्गलाई अझ छोटो बनाउन अहिलेको नक्साङ्कन केही ठाउँमा परिवर्तन गर्नुपर्ने उहाँको धारणा छ । त्यस्तै कतिपय घुम्ती पार गर्न सुरुङ निर्माण गरेर मध्यपहाडी राजमार्गलाई मेरुदण्ड राजमार्ग बनाउन सकिने उहाँले बताउनुभयो । ‘एलाइन्टमेन्ट चेञ्ज, ठाउँ–ठाउँमा सुरुङ मार्ग र डबल लेन बनाउने बित्तिकै यसको प्रयोग गुणात्मक रूपले बढेर जाने छ’, उहाँले भन्नुभयो । 

झुलाघाट–चिवाभन्ज्याङ मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिका लागि संकल्प यात्राको क्रममा जनतामा एमालेले मात्र देश र जनताको समस्या समाधान गर्न सक्छ भन्ने विश्वास जागेको पाइएको पनि उहाँले बताउनुभयो । 

पौडेलले आग्रहका कुण्ठा बोक्नेहरूले एमालेले आफ्नो कार्यक्रममा बालबालिका प्रयोग गर्‍यो भन्नेसम्मका अभिव्यक्ति दिएको भए पनि त्यसको एमालेले कुनै वास्ता नगर्ने स्पष्ट पार्नुभयो ।  एमाले र केपी शर्मा ओलीलाईलाई बालकदेखि वृद्धसम्मले आस्थाको केन्द्र मान्ने उहाँले दाबी गर्नुभयो । 

यात्राको क्रममा पार्टी कार्यकर्ता र जनताको घरमा बास बस्दा जनतासँग जीवन्त सम्बन्ध स्थापित गरेको उहाँले बताउनुभयो । यसबाट नयाँपनको अनुभूति भएको पौडेलले सुनाउनुभयो । 

पौडेलले आज राष्ट्र र जनताले कस्ता समस्या बेहोरेको छ र त्यसको समाधान कसरी गर्न सकिन्छ भन्ने कुरामा ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । ‘आज राष्ट्रले के समस्या भोगिरहेको छ, जनताले कस्ता समस्या भोगिरहेका छन् र त्यसको समाधान के हो, यस मामलामा नेकपा एमाले च्याम्पियन बन्न चाहन्छ, राष्ट्र र जनताका समस्या बुझ्ने र समाधान गर्ने सम्बन्धमा देशको सही, सक्षम र सबल पार्टी नेकपा एमाले हो भन्ने मानक स्थापना गर्न आवश्यक छ’, पौडेलले भन्नुभयो । 

लामो संघर्ष पछि राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापनापछि नागरिकले अब आफ्नो जीवनमा परिवर्तन खोजेको उहाँले बताउनुभयो । ‘अब नागरिकले चाहेको भनेको हाम्रो जीवन बदलिनु पर्‍यो, आर्थिक, सामाजिक हैसियत बदलिनु पर्‍यो, हामीले सुखी र समृद्ध जीवन जिउन पाउनु पर्‍यो, जनताको यी अपेक्षा छन्, सुखी र समृद्धिका सम्बन्धमा भौतिक पूर्वाधारका सम्बन्धमा पनि जनताका अपेक्षा छन्, आर्थिक, सामाजिक अरू पक्षमा पनि जनताका अपेक्षा छन्, त्यो अपेक्षाको अगुवाइ एमालेले गर्दै छ’, उहाँले भन्नुभयो । 

आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू, महासचिव शंकर पोखरेल, उपमहासचिवहरू, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोलीसहित समृद्धिको लागि संकल्प यात्रामा हुनुहुन्छ । 

बैतडीको झुलाघाटमबाट मङ्सिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको छ ।